विद्यार्थी जीवनमा महत्त्व राख्ने अध्ययनका विषय

औपचारिक रूपमा पेसा नै अध्ययन गर्ने भएको जीवनको अवस्थालाई विद्यार्थी जीवन भनिन्छ । यो समयावधिमा प्रमुख काम पढ्ने नै हो । त्यसो हुनुको कारण भविष्यमा आफूले गर्ने पेसाका लागि योग्यता हासिल गर्नुपर्ने हुनाले तयारीको लागि अध्ययन व्यवस्थित र उपयोगी हुनुपर्छ । विद्यार्थी जीवनमा अध्ययनको विषय सूचीमा प्राथमिकताका साथ छनौट गर्ने काम अत्यन्त महत्त्वको हुन्छ । अहिलेको वैज्ञानिक युगमा धेरै विषय अध्ययन गर्न आवश्यक भए पनि आफ्नो भविष्य सफल पार्न विषय छनौटले महत्त्व राख्दछ ।

राज्यसत्ता सम्पन्न वर्गको हातमा भएको कारणले शिक्षण संस्थाहरू सबै जनताका लागि समान व्यवहार र समान किसिमको व्यवस्थापन हुनुपर्नेमा सम्पन्न वर्गका लागि र सर्वसाधारण जनताका लागि भिन्न किसिमले वर्गीय स्वरूपअनुसार सञ्चालन गरिएको हुन्छ । त्यसको सोझो असर रोजगारीमा पर्छ ।

सम्पन्न वर्गका लागि उच्च सुविधासहितको रोजगारमूलक र बौद्धिक श्रम गर्न सक्ने प्राविधिक शिक्षाको व्यवस्था हुन्छ भने सर्वसाधारण जनताका छोराछोरीका लागि अव्यवस्थित र निम्नस्तरका योग्यता विकास हुने र प्रतिस्पर्धामा समान योग्यता हुन नसक्ने गरी शिक्षण संस्थाको पाठ्यक्रम र व्यवस्थापन निश्चित गरिएको हुन्छ । त्यसैले सम्पन्नवर्गका विद्यार्थीले र सर्वसाधारण जनताका विद्यार्थीले आफ्नो अवस्था हेरी अध्ययनका विषय छनौट गरेर जीवन सफल र उपलब्धिमूलक बनाउनुपर्छ ।

सर्वसाधारण जनताको आम्दानी थोरै हुने भएको हुनाले धेरै लगानी गरेर सम्पन्नवर्गको हैसियत हुने गरी व्यवस्थित शिक्षण संस्थामा र उच्च प्रतिस्पर्धात्मक बौद्धिक र प्राविधिक विषयको अध्ययन गर्न सक्दैनन् । त्यसैले गर्दा रोजगारीको ग्यारेन्टी हुन सक्दैन । त्यति मात्र होइन, बौद्धिक र प्राविधिक क्षेत्रमा रोजगारी हुने योग्यताको विकास गर्ने अवसर पनि पाउन्नन् । पाठ्यक्रम पनि निम्न प्राविधिक र बौद्धिकस्तरको हुन्छ । बौद्धिक प्रतिष्पर्धामा जित्न सक्ने किसिमका अनैतिक पु“जीवादी–साम्राज्यवादीको दलाली गरेर गुजारा गर्नुपर्ने कि शारीरिक मिहिनेत गर्नुपर्ने अवस्था हुन्छ । जुनसुकै काम गरे पनि श्रमशक्ति अधिकतम खर्च गर्नुपर्ने, तर सुविधा निम्नस्तरको लिनुपर्ने बाध्यात्मक अवस्था हुन्छ । त्यसो गर्दा पु“जीवादी समाजमा समान योग्यता र समान हैसियत हुन सक्ने विषय छनौट गर्ने, तर आम्दानीको श्रोत कमजोर हुने गर्दा दलाली गर्नुपर्ने अथवा शोषित हुनुपर्ने हुनाले सर्वसाधारण जनताका छोराछोरीका लागि आफ्नो योग्यता विकास र प्रतिष्पर्धामा विजयी बन्नका लागि अध्ययनको विषय छनौटले बढी महत्त्व राख्छ ।

वर्तमान शिक्षा नीतिको सबैभन्दा ठुलो कमजोरी सिद्धान्त र व्यवहारबिच एकरूपता नहुने र शिक्षा श्रमसँग नजोडिएको हुने हो । कोरा सैद्धान्तिक अध्ययन व्यवहारमा उतार्न नसकिने खालको हुन्छ । अर्को कुरा, समाजमा परस्पर विरोधी वर्ग विद्यमान भएको, सम्पन्न वर्ग सङ्ख्यामा कम भएको र धेरै सङ्ख्यामा भएक मिहिनेतकस जनतालाई शोषण गरेर सम्पन्न वर्गीय स्वार्थ पूरा गर्नुपर्ने भएको हुनाले वर्गसङ्घर्षको विषय जानकारी गराइन्न । त्यसैले गर्दा व्यावहारिक जीवनमा आवश्यक पर्ने विषय शिक्षण संस्थामा नपढाइने र पढाइने विषय दैनिक व्यावहारिक जीवनमा प्रयोग हुन नसक्ने भएको हुनाले शैक्षिक बेरोजगारको समस्या उत्पन्न हुन्छ । रोजगारी सृजना गर्ने योग्यता र सङ्गठन गर्ने क्षमता नभएका कारण गुजारा चलाउन दलाली गर्नुपर्ने, शारीरिक श्रम र न्यून पारिश्रमिकबाट आवश्यकता पूरा गर्नुपर्ने वा अनैतिक भ्रष्ट काम गर्नुपर्ने हुन्छ । यस विषयमा समयमै सचेत भई आफूले अध्ययन गर्नुपर्ने विषयको जानकारी र सङ्गठित प्रयत्नको आवश्यकता महसुस गरेर वर्गसङ्घर्ष गर्नुपर्छ ।

विषय छनौट गर्दा समाजको बनोटको तत्कालीन अवस्था, जनताको भौतिक जीवनको अवस्था र शोषितवर्गको हैसियतले गर्नुपर्ने प्रकृति विरुद्धको सङ्घर्ष तथा विरोधी वर्ग विरुद्ध गर्नुपर्ने सङ्गठित सङ्घर्ष दुवै पक्षलाई एकैसाथ अगाडि बढाउन प्रयत्न गर्नुपर्छ । समाजका भौतिक आवश्यकता पूरा गर्न उत्पादन कार्यका लागि प्रकृतिका विरुद्ध गरिने सङ्घर्षबारे जानकारी हुनुका साथै अर्काको श्रमबाट उत्पादन भएका सुविधाहरू श्रम नगरिकन वा कम श्रम गरेर उच्च सुविधा उपयोग गरेका विरोधी वर्गको विरोधमा चलाइने वर्गसङ्घर्ष दुवै पक्षको अध्ययन गर्ने गरी विषयवस्तु छनौट गर्नुपर्छ । भौतिक आवश्यकता पूरा गर्न उत्पादन सङ्घर्षमा कृषि उत्पादन वा औद्योगिक उत्पादनसम्बन्धी जनतालाई सिकाउन सकिने गरी जानकारी र श्रम नगरिकन वा तत्लोस्तरको सुविधा उपयोग गरिरहेका अथवा गर्न प्रयत्न गरिरहेका शोषण वर्ग विरुद्ध सङ्गठित प्रयत्न गर्न सक्ने क्षमतामा पनि जनतालाई सचेत र सङ्गठित पार्न सकिने विषयवस्तुका साथै अहिलेको वैज्ञानिक युगमा ती विषयमा भएका अनुसन्धानको प्रयोग तीन वटै पक्षको विषयवस्तुको छनौट अनिवार्य रूपमा गरिसक्नुपर्छ ।

केवल एक जनाको मात्र प्रयत्नले उत्पादन, वितरण र उपयोगसम्बन्धी काम पूरा हुन सक्दैन । त्यसका लागि सङ्गठित प्रयत्नको जरुरी पर्दछ । समाजमा सङ्गठित प्रयास भइरहेको पनि छ । तर ती काम पूरा गराउने तरिका शोषणमा आधारित भएर पूरा भइरहेका छन् । त्यसो भन्नुको अर्थ एकातिर, बढी परिश्रम गर्नेले निम्नस्तरको सुविधा उपभोग गर्न पाउने बाध्यात्मक अवस्था, अर्कोतिर श्रम नगर्ने अथवा निम्नस्तरको श्रम गरेर पनि उच्चस्तरको सुविधा उपभोग गरिरहेको अवस्था हो । यी दुवै काम परस्पर विरोधी वर्गको अस्तित्व भएको र लामो समयदेखि सम्पन्नवर्गको हातमा राज्यसत्ता भएकाले विपन्नवर्गमाथि शासन गरिरहेको व्यवस्था हुनुको कारणले हो । सम्पन्नवर्गले व्यक्तिगत सम्पत्तिको कारणले शोषण गर्न सफल भएका छन् भने सर्वसाधारण जनता सङ्गठित प्रयत्न गर्न नसकेका कारणले शोषित भइरहेका छन् ।

विद्यार्थी जीवनमा एकातिर, शिक्षण संस्था वा सरकारले तोकेका पाठ्यक्रम र पाठ्यपुस्तक अनिवार्य रूपले आफ्नो स्तरअनुसार अध्ययन त गर्नैपर्छ, त्यसका साथै भविष्यमा बेरोजगार नबन्नका लागि वर्गसङ्घर्ष र उत्पादन सङ्घर्ष दुवैलाई एकसाथ अगाडि बढाउन ती विषयको अध्ययन अनिवार्य रूपमा गरेर सङ्गठित रूपमा समस्याको समाधान खोज्नुपर्छ । त्यसो गर्दा किसान र मजदुरको अवस्था पहिचान गरेर उनीहरूको साथसाथै आफूले उनीहरूको समस्या समाधानमा सहयोगी भूमिका खेल्नसक्ने क्षमताको विकास गर्न सक्नुपर्छ । त्यसका लागि समस्या किसान–मजदुरबाट बुझ्ने र समाधान सङ्घर्षको सङ्गठित प्रयासबाट अभ्यास गर्ने गर्नु अनिवार्य हुन्छ । प्रकृति विरुद्धको सङ्घर्षमा जानकारी पाउन सम्बन्धित विषयका वैज्ञानिकको अनुसन्धानलाई आफ्नो समाजको अवस्थामा प्रयोग गर्ने र वर्गसङ्घर्षको जानकारी पाउन माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओत्सेतुङका अनुसन्धानलाई आफ्नो समाजको वर्तमान अवस्थामा सङ्गठित रूपले प्रयोग गर्न ध्यान दिनुपर्छ ।
राज्यसत्ता जनताको पक्षमा नभएको हुनाले उसले तोकेको पाठ्यक्रमबाट आफू र आफ्नो समाजलाई मुक्तिको बाटोतिर डो¥याउन सकिन्न । विपन्न वर्गको हैसितले किसान, मजदुरको समस्या पहिचान गरी समाधानको बाटो नदेखाउने हो भने आफ्नो र समाजको मुक्ति सम्भव हुन्न । यी दुवै पक्ष वर्तमान समाजका परस्पर विरोधी पक्ष भए पनि हामीले त्यतातिर ध्यान दिएर समाज परिवर्तन र राज्यसत्ता परिवर्तनमा योगदान दिन सकिन्छ । मानव समाजमा वर्गीय शासन सुरु भएदेखि नै विपन्नवर्गले सङ्घर्ष गरेर व्यवस्था परिवर्तन गर्दै आएका छन् । दासव्यवस्था दासको विद्रोहबाट परिवर्तन भएको हो । हाम्रो देशको सामन्ती व्यवस्थाको नाइके राजतन्त्र पनि उत्पीडित नेपाली जनताको संयुक्त प्रयत्नमा भएको आन्दोलनबाट हटेको हो । वर्तमान अवस्थाको सम्पन्न वर्गीय शासन पनि उत्पीडित नेपाली जनताको संयुक्त प्रयत्नबाट हट्न बाध्य हुने छ । त्यसका लागि सम्पूर्ण विद्यार्थीले आफ्नो मुक्तिका विषयवस्तु छनौट, अध्ययन, प्रयोग र परिवर्तन गर्न सङ्गठित प्रयास गर्न जरुरी छ ।

समाज विकासको आधार उत्पादन प्रणाली अथवा उत्पादन र वितरण गर्ने तरिका हो । यही प्रणालीको आधारमा धर्म, राजनीति र नैतिकता अडेको हुन्छ । उत्पादनमा वृद्धि गर्न प्रकृतिका विरुद्ध सङ्घर्ष गर्ने सिप र दक्षता बढाउनुपर्छ । वितरणमा सुधार गर्न विरोधी वर्गका विरुद्ध सङ्घर्ष गर्न अथवा श्रम नगरिकन उच्च सुविधाका साथै जीवन बिताउनेका विरुद्ध सङ्घर्ष गर्ने सिप र दक्षतामा विकास गर्नु जरुरी हुन्छ । यी दुवै काम एक्लैको प्रयत्नबाट पूरा हुन सक्दैनन् । त्यसैले एकातिर, व्यक्तिगत रूपमा प्रकृतिका विरुद्ध र विरोधी वर्गका विरुद्ध गर्ने सङ्घर्षमा सिप र दक्षताको प्रयोग गर्नुपर्छ भने अर्कोतिर, सामूहिक प्रयत्नका लागि सिद्धान्त, राजनीति सही छनोट गर्नुका साथै सङ्गठित रूपमा सङ्घर्ष गर्न अनुशासन र दृढताको परिचयका साथ जनवादी केन्द्रीयताको सही पालना गर्नुपर्छ । समग्रमा जनतासँग मिलेर वा उत्पादक शक्तिस“ग एकाकार भएर अथवा जनतालाई सचेत र सङ्गठित बनाएर आफ्नो मुक्ति जनताको मुक्तिस“ग जोडेर मात्र सफलता हासिल गर्न सकिन्छ ।

समाजको आमूल परिवर्तन गरेर समाजवादी समाज स्थापना गर्नका लागि विद्यार्थी सक्षम हुन्छन् कि हुन्नन् भन्ने कुराको मूल्याङ्कन गर्ने मापदण्ड स्पष्ट छ । आजका विद्यार्थीले भविष्यमा जनताबिच कुनै एउटा पेसा अनिवार्य रूपमा अपनाउनुपर्छ । भविष्यमा जनताको पक्षमा काम गर्ने पेसेवर व्यक्ति हुनका लागि बुद्धिजीवी, मजदुर वा किसान भई काम गर्न अनिवार्य हुन्छ । सोझै माथिका तीन किसिमको पेसेवर बाहेक आजको विद्यार्थीले भविष्यमा जेसुकै काम गरे पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पन्न वर्गीय हैसियतमा अथवा विपन्न वर्गीय हैसियतमा वर्गसङ्घर्षमा सामेल भएकै हुन्छन् । वर्गसङ्र्घषमा विजय बन्न कि त शोषकवर्ग बन्न श्रमजीवी वर्गको शोषण बढाउनुपर्छ कि श्रमजीवी वर्गको शोषण बढाउनुपर्छ कि श्रमजीवी वर्गको सेवा गर्ने हो भने सङ्गठन र अनुशासनको स्तर माथि बनाउनैपर्छ । यी दुईमध्ये एक बाटो अनिवार्य रूपमा पार गर्नुपर्छ । भनाइअनुसार गराइ अथवा सिद्धान्तअनुसारको व्यवहार नगर्ने हो भने उसका हरेक कृयाकलापले सम्पन्न वर्गलाई र वर्तमान व्यवस्थाका सञ्चालकलाई सहयोग पुग्छ अथवा शोषण प्रधान व्यवस्थाको आयु बढी लामो हुन्छ । त्यसो भन्नुको अर्थ श्रमजीवी वर्गलाई अझै लामो समयसम्म शोषणको मार खप्न अनिवार्य हुन्छ भन्ने हो । त्यसैले विद्यार्थी जीवनबाटै सिद्धान्त र व्यवहारबिच फरक नपार्न अध्ययन र अनुशासन तथा श्रम र नैतिकताको विचार गरी विषयवस्तुको छनौट र अध्ययन गर्न अनिवार्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker