टेकराज भण्डारी, पौष १६, अछाम
अछाम जिल्लामा १५ सय बढी व्यक्ति कोरोना भाईरस (कोभिड(१९) जितेर घर फर्केका छन् । जिल्लामा केल संक्रमित १६ सय ४९ जना मध्ये १५ सय ८५ जनाले कोरोना भाईरसलाई पराजित गरि घर फर्केका जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो । अछाम जिल्लामा १२ सय ९७ पुरुष र ३ सय ५२ जना महिला गरि गरि १६ सय ४९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । हाल जिल्लामा ५९ जना कोरोनाका सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ । अछाममा कोरोनाका कारण ५ जनाको ज्यान समेत गैसकेको छ ।
बिहीबार अछाममा ७ जनामा कोरोना भाईरसको संक्रमण पनि पुष्टि भएको छ । जिल्लाको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा रामारोशन गाउँपालिका वडा नम्बर ३ र ४ का ६ जना पुरुष र १ जना महिला गरि ७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो । तर जिल्ला स्वास्थ्य कार्यालय अछामले आज ३ जनामा मात्रै कोरोना पुष्टि भएको आफ्नो तथ्यांक मार्फत जानकारी गराएको छ ।अछाममा हालसम्म १३ हजार १ सय ३० जनाको पिसीआर परिक्षणका लागि स्वाब संकलन गरि परिक्षण गरिएको छ । जसमध्ये ११ हजार ३ सय २६ जनामा कोरोना नेगेटिभ देखाएको छ ।