नेकपामा तेस्राे कित्ता मेराे हाे : वामदेव गाैतम

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपामा अहिले आफ्नोसहित तीन कित्ता रहेको बताउनुभएको छ ।

प्रचण्ड–नेपाल समूह र ओली समूहको कित्ता पार्टी विभाजन गराउने कित्ता भएको र आफ्नो कित्ता चाँहि मिलाउने कित्ता रहेको नेता गाैतमकाे भनाइ छ । अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने आफ्नो कित्ता भएको भन्दै उहाँले आफूलाई दशौँ हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउन आग्रह गरिरहेका बताउनुभयो ।

राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै नेकपा फुटिनसकेको र अझै पनि पार्टी एकता जोगाउने सम्भावना जीवित रहेको बताउनुभएको हो ।

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उहाँको भनाइ छ । उपाध्यक्ष गौतमले सङ्गठित रूपमै एकता अभियान अगाडि बढाउने पनि बताउनुभयो ।

आफू प्रतिनिधि सभा विघटनको विपक्षमा भए पनि नेकपाको प्रचण्ड–नेपाल समूहमा भने नजाने उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई दिनदिनै बोलाउने गरेको भन्दै उहाँले आफू कुनै पनि समूहमा नजाने बताउनुभयो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker