बर्दिया निकुञ्जका बाघ दिउँसै सडकमा, वन्यजन्तुमैत्री संरचना तत्काल आवश्यक

  माघ २, २०७७ शुक्रबार

बर्दिया – बर्दिया ठाकुरबाबा नगरपालिकाको भुरिगाउँमा रहेको मनुषा टिकासिंह थापा क्याम्पसका प्रमुख युवराज अधिकारी साथीहरुसँग गएको पुस १७ गते चिसापानी जाँदै हुनुहुन्थ्यो । 

बर्दिया निकुञ्जभित्र पर्ने राजमार्गमा एक्कासी बाघ हिँडिरहेको देखियो । ‘हाम्रै अगाडि बाघ हिँडेको देखेपछि एकछिन गाडी रोक्यौँ र गाडी भित्रबाट बाघको भिडियो खिच्न लाग्यौँ । हाम्रो पछिल्तिर रहेको जीप अघि बढ्यो, रातिको साढे ८ बजेतिर हो । हामी भिडियो खिच्दै केही छिनपछि अघि बढ्यौँ, त्योभन्दा ३ मिटर अगाडि बाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेछ’ उहाँले केही दिनअघिको घटना सुनाउनुभयो ।

त्यो घटनापछि निकुञ्जभित्र पर्ने राजमार्गमा दिनहुँ बाघ देखिने गरेको यात्रु र स्थानीय बासिन्दाले बताएका छन् । ‘पुस २४ गते पनि हामी कर्णाली चिसापानीतर्फ जाँदै थियौँ, बेलुकी साढे ६ बजेको समयमा दुई वटा बाघ राजमार्गमा देख्यौँ’ क्याम्पस प्रमुख अधिकारीले भन्नुभयो, ‘निकुञ्ज भित्र पर्ने राजमार्गमा हिजोआज दिनहुँजसो बाघ देखिने गरेको छ ।’ 

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा गएको पुस १७ गते राति पाटेबाघले गुडिरहेकै मोटरसाइकलमा आक्रमण गरी एक महिलाको ज्यान लियो । त्यो घटनापछि निकुञ्जका बाघ हिंस्रक बनेको भन्दै चिन्ता र आक्रोश बढिरहेको छ । राजमार्ग हुँदै यात्रा गर्नेहरुले हिजोआज हरेक दिनजसो सडकमा बाघ देखिएको फोटो र भिडियोहरु सामाजिक सञ्जालमा राखिरहेका छन् ।

जंगली हात्तीको आतङ्कपछि अब पाटेबाघको पालो

तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्र ५ सय ७ वर्ग किलोमिटर रहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वनभित्रबाट आएका बँदेल, निलगाई र बाँदरले बर्सेनि बालीनालीमा क्षति पुर्याउने गरेको छ । निकुञ्ज र सामुदायिक वनभित्रबाट निस्केका चितुवाले हरेक वर्ष पशुचौपाया खाने र जंगली हात्तीले घरगोठ भत्काउने, अन्नबालीमा क्षति पुर्याउने तथा मान्छे मार्ने घटना पनि भइरहेको छ ।

जंगली हात्तीलगायत वन्यजन्तुबाट हुने जनधनको क्षति रोक्न विकल्पहरु अपनाउने प्रयास भइरहेका बेला पाटेबाघले मान्छे मार्न थालेपछि स्थानीयबासिन्दा थप त्रसित बनेका छन् । बर्दियामा ५ महिनाको अवधिमा पाटेबाघको आक्रमणबाट ७ जनाले ज्यान गुमाइसकेका छन् ।

दुई वर्षयता अहिलेसम्म बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्र अन्तर्गतका जैविक मार्ग तथा सामुदायिक वनमा पाटेबाघको आक्रमणबाट १४ जनाको ज्यान गएको छ । स्थानीयबासिन्दा निकुञ्ज र राष्ट्रिय वन आसपासका सामुदायिक वनमा घाँस दाउरा लिन गएका बेला र जंगल आसपासका गाउँमै पसेर पाटेबाघले घरपालुवा पशु चौपाया र मानिसको ज्यान लिने गरेको छ । 

मानव र वन्यजन्तुबीच द्वन्द्वको नयाँ जोखिम

दुई दशकअघि एक पुरुषलाई मोटरसाइकलबाटै पाटेबाघले झम्टेर ज्यान लगेको ठाउँमा पुस १७ गते राति निकुञ्जभित्र पर्ने राजमार्गमा पाटे बाघले मोटरसाइकलमा रहेकी एक महिलालाई झम्टेर ज्यान लियो ।

त्यसपछि निकुञ्ज प्रशासनले तत्कालका लागि मोटरसाइकल, साइकल र पैदल यात्रुलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म ओहोरदोहोरमा रोक लगायो । तर पाटेबाघले मोटरसाइकलमा रहेकी महिलालाई झम्टेर ज्यान लिएको ठाउँ आसपासमा हरेक दिन बिहान, दिउँसो र रातिमा बाघ देखिने गरेको पर्यटन व्यवसायी रेशम थापाले बताउनुभयो । 

वन्यजन्तुको बासस्थान नजिक हुने यस्तो घटनालाई त्यति अस्वाभाविक ठानिँदैन र पीडितलाई क्षतिपूर्ति तथा थप क्षति रोक्ने उपाय निरन्तर अवलम्बन गरिन्छ । तर, निकुञ्जभित्र पर्ने राजमार्गमै धेरै वर्षपछि फेरि यस्तो दुःखद घटना भएको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो ।

झण्डै २१ वर्षअघि २०५६ सालमा निकुञ्जको यही क्षेत्र आसपासमा राजमार्गमै पाटेबाघले मोटरसाइकलमा सवार कैलाली लम्कीका फिल्म हलका साहुलाई आक्रमण गर्दा ज्यान गएको थियो । अहिले उस्तै प्रकृतिको घटना दोहोरिएको छ । 

लकडाउनका बेला राजमार्ग सुनसान हुँदा बाघ राजमार्गमा आउन थाले

आन्तरिक र बाह्य पर्यटकहरूले बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जलाई नै रोज्ने गर्छन् । बर्दिया निकुञ्जमा पछिल्लो समय पाटे बाघको संख्या पनि बढ्दै गएको छ ।

कोरोना महामारी फैलनु अघिल्ला वर्षहरूमा बर्दिया निकुञ्जका पाटेबाघ बढेसँगै निकुञ्जभित्र गएका बेला बाघ देखिन थालेपछि स्वदेशी र विदेशी पर्यटकलाई मोहित पार्ने गरेको थियो । बाघ हेर्नकै लागि बर्दियामा पर्यटकको ओइरो लाग्थ्यो ।

गएको चैत ११ गतेदेखि लकडाउन भयो र राजमार्गमा गाडी चलेनन् । पाटेबाघको बासस्थान क्षेत्रमा पर्ने भनिएको बर्दिया निकुञ्ज भित्रको अम्रेनीबाट कर्णालीतर्फ जाने झण्डै १४ किलोमिटर पूर्व पश्चिम राजमार्ग त्यसयता लगभग बाघकै कब्जामा थियो । निकुञ्जभित्र पर्ने पूर्व पश्चिम राजमार्गमा दिनहुँ बाघ हिँडिरहेका फोटो र भिडियो क्यामरामा कैद गरिएकोे राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरियाले बताउनुभयो ।

लकडाउनका बेला राजमार्गमै बसोबास र आवतजावत गर्न अभ्यस्त भएका बाघ तब आक्रामक हुन थाले, जब लकडाउनपछि सडकमा गाडी चल्न थाले । ‘बाघको संख्या बढ्दै जाँदा उनीहरुको बासस्थानमा मानवीय अतिक्रमण भएझैँ भयो, लकडाउनताका बाघले सडकलाई समेत आफ्नो ’टेरिटोरी’ बनाउन थालेका थिए । आफ्नो नयाँ ’टेरिटोरी’ क्षेत्रमा फेरि मानवीय गतिविधि बढेपछि बाघ आक्रामक बनेका हुन सक्छन्’ बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले भन्नुभयो ।
    
टाइमकार्ड लागूमा थप कडाइ, सावधानी अपनाउन आग्रह

बर्दिया निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा यात्रा गर्न अहिले जोखिम छ । निकुञ्ज क्षेत्रभित्रका राजमार्गमा यात्रा गर्न निकुञ्ज प्रशासनले टाइम कार्ड लागू गरेको छ । निकुञ्ज क्षेत्रभित्र रम्मापुरबाट सैनवारसम्म २२ मिनेट र अम्रेनीबाट कर्णाली चिसापानीसम्म २२ मिनेट समय तोकिएको छ ।

टाइमकार्डलाई थप कडाइ गरिएको छ । बाघको आक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन निकुञ्जको सुझाव छ । मोटरसाइकल, साइकल र पैदल यात्रुसँगै ठूला गाडीका चालकहरुलाई पनि सावधानी अपनाउन भनिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । 

फोटो र भिडियो नखिच्न आग्रह

यसअघि मानिस र गाडीको बाक्लो आवतजावत हुने राजमार्गमा दिउँसै पाटेबाघ आउने गरेको खासै देखिएको र सुनिएको थिएन । तर, केही महिनायता निकुञ्जभित्र पर्ने पूर्व पश्चिम राजमार्गको अम्रेनी चिसापानी क्षेत्रका सडकमा रातिमा मात्र नभएर दिउँसै पाटेबाघ देखिन थालेको छ ।

निकुञ्जभित्र पर्ने राजमार्गमा पाटेबाघ हिँडिरहेको फोटो र भिडियोहरु सामाजिक सञ्जालमा आइरहेका छन् । बाघ देख्नेबित्तिकै गाडी रोकेर जिस्क्याउने तथा फोटो र भिडियो लिने काम गर्दा बाघ आक्रमणका घटना अझ बढ्न सक्ने भएकाले त्यसो नगर्न राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरियाले आग्रह गर्नुभयो । 

बाघ भेटिने राजमार्ग क्षेत्रमा निगरानी बढाइयो

मोटरसाइकलमा रहेकी महिलाको ज्यान लिने बाघलाई पहिचान गरेर नियन्त्रणमा लिने प्रयास थालिएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघ आक्रमणका घटना बढेपछि बाघ ओहोरदोहोर गर्ने क्षेत्रमा निकुञ्जको टोली र नेपाली सेनाले निगरानी बढाएको जानकारी दिनुभयो ।

सन् २०१८ को बाघगणनाअनुसार बर्दिया निकुञ्जमा ८७ वटा वयस्क पाटेबाघ रहेका छन् । बाघको संख्या बढेसँगै पछिल्लो समय बाघ आक्रमणका घटना पनि बढिरहेको हो । अहिले बर्दिया निकुञ्जमा एक सयको हाराहारीमा पाटेबाघ रहेको हुन सक्ने निकुञ्जले अनुमान गरेको छ । 

राजमार्ग किनारको झाडी कसले कहिले सफा गर्ने ?

सडक विभागले बजार क्षेत्रमा पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ ३१/३१ मिटर सडक खाली गराउँदै आएको छ । तर, निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा भने दायाँ बायाँ ३१/३१ मिटर सडक खाली गर्ने काम सडक विभागले गरेको छैन ।

निकुञ्जभित्रको राजमार्ग किनार आसपास रुख, बिरुवा र घाँसले ढाकेको छ । वन्यजन्तु त्यही घाँसमा बसिरहेका हुन्छन् । गाडीको आवाज सुनेपछि वन्यजन्तु तर्सिने र गाडीमा आक्रमण गर्ने जोखिम हुन्छ । त्यसैले, अर्को वन्यजन्तुमैत्री संरचना नबन्दासम्म निकुञ्जभित्र पर्ने राजमार्ग किनारका रुख, विरुवा र घाँस तत्काल काट्न जरुरी रहेको पुर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाको भनाइ छ ।

सडक विभागले दुई, चार जना मान्छे लगाएर वर्षमा कहिलेकाहीँ घाँस मात्रै काट्ने गर्छ । निकुञ्ज किनारको झाडी सफा गरेमा केही हदसम्म जोखिम कम हुने स्थानीयबासिन्दा बताउँछन् ।

‘सडक विभागले हामीसँग सहकार्य गरेर निकुञ्जभित्र पर्ने रुख, बिरुवा काट्ने र झाडी सफा गर्ने काम गरिदिएको भए तत्कालका लागि केही हदसम्म जोखिम कम हुने थियो’ बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो ।

निकुञ्ज भित्र पर्ने राजमार्ग किनारका रुख, बिरुवा काट्ने र झाडी सफा गर्न आफूहरुसँग बजेट नभएकाले निकुञ्जभित्र पर्ने सडक किनारमा मात्रै घाँस काट्ने काम सुरु गरिएको सडक विभागका जिल्ला प्रमुख हुमबहादुर एसीले बताउनुभयो । 

वन्यजन्तुमैत्री संरचना तत्काल आवश्यक

जंगली हात्ती, पाटेबाघलगायत वन्यजन्तुको बासस्थानमा बाधा पुगेका कारण पनि उनीहरु आक्रामक बन्न थालेको हुनसक्ने संरक्षणकर्मीहरु बताउँछन् । मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्न नदिएर सह-अस्तित्व कायम राख्न निकुञ्जभित्र पर्ने राजमार्ग र संरक्षित जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा वन्यजन्तुमैत्री संरचना बनाउन खाँचो रहेको संरक्षणकर्मीको भनाइ छ ।

पाटेबाघलगायतका वन्यजन्तुले आक्रमण गर्ने क्रम बढ्न थालेपछि क्षति कम गर्न दिगो व्यवस्थापनका लागि सरकारले वैकल्पिक उपाय खोज्नुपर्ने वा वन्यजन्तुमैत्री संरचना बनाउन आवश्यक रहेको बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापा बताउनुहुन्छ ।

निकुञ्जको बीच भागबाट पूर्व-पश्चिम राजमार्ग हुँदै दैनिक सयौँ साना ठूला गाडी ओहोरदोहोर गरिरहेका हुन्छन् । पाटे बाघ, हात्ती, चित्तल लगायतका वन्यजन्तुहरु पनि सडक वारपार गर्छन् र सडक आसपासमा हिँडिरहेका हुन्छन् ।

‘राजमार्ग निर्माण गर्ने क्रममा निकुञ्जको बीचबाट निर्माण नगरि त्यसको विकल्प खोज्नुपर्थ्यो’ पूर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले भन्नुभयो, ‘तर त्यसबेला अहिलेको कर्णाली चिसापानीलाई जोड्ने उद्देश्यले राजमार्गलाई छोटो बनाउन यहाँबाट सडक बनाइयो । अब भने वन्यजन्तुमैत्री सडक तत्काल बनाउन जरुरी छ ।’

बर्दिया निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा वन्यजन्तुमैत्री संरचना अण्डरपास वा ओभरपास निर्माणका लागि वन्यजन्तु संरक्षण विभागसँग पहल थालिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button