किन आए त्रिभुवन विमानस्थलमा २९ वर्ष पुराना दुई विदेशी हेलिकप्टर?

माघ २, २०७७,शुक्रबार,

दुई साताअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशमा दर्ता भएका दुई हेलिकप्टर आए।

रसियन कम्पनीले निर्माण गरेका किर्गिस्तानमा दर्ता भएका दुई एमआई-१७ हेलिकप्टर विमानस्थलमा आएपछि त्यहीँभित्रका कर्मचारीमा पनि उत्सुकता थियो।

कहाँबाट आए? किन आए? भन्‍ने प्रश्न विमानस्थलकै कर्मचारीले गरेका थिए।

यसरी प्रश्न उब्जिनुका कारण थिए। सामान्यतया, नेपालमा यस्ता हेलिकप्टर आउँदैनन्। कि त चार्टर गरेर यात्रु ल्याएर आउँछन् तर यिनमा यात्रु पनि थिएनन्।

‘कुनै नेपाली अपरेटरले ल्याउने सम्भावना पनि थिएन। किनभने यी हेलिकप्टर २९ वर्ष पुराना थिए। नेपालमा १४ वर्षभन्दा पुराना हेलिकप्टर ल्याएमा व्यावसायिक उडान अनुमति पाउँदैनन्। कर्मचारीमात्र होइन, एटिसीबाहेक विमानस्थलका उच्च प्रशासकहरूलाई पनि यसबारेमा जानकारी थिएन। नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा यी हेलिकप्टर जनवरी १ मा काठमाडौं अवतरण भएका थिए,’ विमानस्थलका एक कर्मचारीले सेतोपाटीसँग भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार हेलिकप्टर हेली स्काई भन्‍ने कम्पनीले नेपालमा ट्रान्जिट अवतरण अनुमति मागेर ल्याएको थियो। सुरुमा उसले जनवरी ९ सम्मका लागि काठमाडौंमै पार्किङ गर्न अनुमति मागेको थियो। सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको थियो।

‘हामीले उसलाई पहिले जनवरी ९ सम्म अनुमति दिएका थियौं। तर, जनवरी ९ पछि फेरि जनवरी २९ सम्मका लागि समय मागेको थियो। सोहीअनुसार हामीले उसालाई अनुमति दिएका छौं,’ उनले भने।

यी हेलिकप्टर अब २९ जनवरीसम्म विमानस्थलमै रहने छन्।

हेली स्काइले डिसेम्बरको तेस्रो सातामै काठमाडौंमा अवतरण माग गर्दै पत्राचार गरेको थियो। तर, क्यानले विना आधार अनुमति दिन नसकिने भन्दै जवाफ फर्काएको थियो। त्यसपछि हेलि स्काइले किर्गिस्तानको नागरिक उड्डयन नियमकको सिफारिस पनि पठाएपछि प्राधिकरणले अनुमति दिएको थियो।

‘गैरव्यावसायिक अवतरणका लागि हामीले यसरी अनुमति दिने गरिरहेका छौं। सोहीअनुसार नागरिक उड्डयनको नियामकको सिफारिस आएपछि अनुमति दिएका हौं,’ उनले भने।

पोखरेलका अनुसार हेली स्काइले ढाकामा रहेका हेलिकप्टर काठमाडौं हुँदै भारतको नयाँदिल्ली लिन खोजेको जानकारी प्राधिकरणलाई गराएको थियो। तर, ९ जनवरीको समय सकिएपछि भने उसले समय थपको मात्र अनुरोध गरेको छ।

बंगलादेशको ढांकाबाट भारतीय आकाश हुँदै दिल्ली जान सकिने भए पनि हेली स्काइले काठमाडौं रोज्‍न खोजेको थियो। तर, पोखरेल भने उसले गैरव्यावसायिक अवतरणको अनुमति माग्दा दिने प्रचलन भएकाले दिइएको अरु कुनै स्वार्थका बारेमा केही जानकारी नभएको बताउँछन्।

‘यी हेलिकप्टर नेपालमा उडाउन पाइँदैन। हामीले खाली विमानस्थलमा अवतरण तथा पार्किङको अनुमति मात्र दिएका हौं। अन्तर्राष्ट्रिय नियमअनुसार पनि हामीले यो दिनुपर्छ,’ उनले भने।

यी हेलिकप्टर उडाएर ल्याएका चालक दलका सदस्यहरू भने अहिले विमानस्थल कार्यालयको सम्पर्कमा छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button