
११ दिनमा अछाममा १० हजार बढीले राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गरे
टेकराज भण्डारी, माघ २, अछाम
अभियानका रुपमा संचालन भैरहेको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्ने कार्य अन्तर्गत अछाम जिल्लामा बिहिबार सम्म १० हजार बढीको विवरण संकलन गरिएको छ । आगामी ३ महिनामा सम्पूर्ण नागरिकको विवरण संकलन कार्य गरिसक्ने गरी गत पौष २० गतेबाट शुरु गरिएको विवरण संकलन शिविरमा माघ १ गते सम्म १० हजार ९ सय जनाको विवरण संकलन गरिएको जिल्ला प्रशाशन कार्यालय अछामले जनाएको छ ।
हाल अभियानको रुपमा अछामका चार स्थानीय तहमा शिविर सञ्चालन गरी राष्ट्रिय परिचप पत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना अद्यावधिक गर्ने कार्य भैरहेको छ । जस अनुसार बिहिबार सम्म मंगलसैन नगरपालिकामा ५ हजार ५ सय ८ जना, बान्नीगढी जयगढ गाउपालिकामा ३ हजार २ सय ७५ जना, कमलबजार नगरपालिकामा १ हजार ९ सय ९० जना र साँफेबगर नगरपालिकामा १ सय २७ जनाको विवरण संकलन गरिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको रुपमा नेपाल सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ ।
अछाम जिल्लामा आगामी ३ महिनाभित्र परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य सकिसक्ने लक्ष्य रहेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद बजगाईले जानकारी दिनुभयो । मंगलसैन नगरपालिका वडा नम्बर १३ बस्तीमा वडामा रहेका र नागरिकता प्राप्त गरेका सबैको विवरण संकलन कार्य सम्पन्न भैसकेको समेत जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । वडाका वाँडा र बस्ती गरी २ ठाउँमा २÷२ जना अपरेटर सहित खटिएको टोलीले ८ दिनमा ९ सय ६२ जनाको विवरण संकलन गरि फर्किसकेको बताईएको छ ।
अछाम जिल्लामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि कञ्चनपुर जिल्लाबाट ४७ जना तालिमप्राप्त अपरेटर आएका छन् भने उनीहरुले तदारुकताका साथ काम गरिरहेका बताईएको छ । हाल विभिन्न वडा तहमा सञ्चालन गरिएका शिविरमा नागरिकको सहभागिता बृद्धि भई घुईचो लाग्ने गरेको छ ।