प्रधानमन्त्रीको चार अभिव्यक्तिमा कांग्रेसको गम्भीर आपत्ति, यस्ता अभिव्यक्ति राेक्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीका विभिन्न अभिव्यक्तिहरूमा ध्यानाकर्षण भएको जनाउँदै गम्भीर आपत्ति जनाएको छ । प्रधानमन्त्रीले कार्यकर्ता संवोधनका क्रममा एवं विभिन्न सार्वजनिक कार्यक्रममा राखेका धारणा अपमानजनक, ओकतान्त्रिक र समुदायलक्षित भन्दै कांग्रेसले आपत्ति जनाएको हो । यस्तै कांग्रेसले यस्ता अभिव्यक्तिहरू नदिन प्रधानमन्त्रीलाई चेतावनी समेत दिएको छ ।

सोमबार एक विज्ञप्ति निकालै कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरू देश विरोधी भन्ने ओलीको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको जनाएको छ । फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार भएको जनाउँदै कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिबाट अधिनायक आकांक्षालाई थप उजागर गरेको उल्लेख गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा कांग्रेसले सर्वोच्च अदालतमा भई रहेको बहसलाई ‘तमासा’ को संज्ञा दिनु अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न भएको निष्कर्ष निकालेको छ । कांग्रेसले सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान भएको जनाएको छ ।

यस्तै आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट भएको उसको ठहर छ ।

प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका कांग्रेसको निष्कर्ष छ । ‘आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ । उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ ।’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्र जिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन पनि कांग्रेसले प्रधानमन्त्रीलाई चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button