टेकराज भण्डारी, माघ १९, अछाम
अछाम जिल्लामा सञ्चालित राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन शिविरमा हालसम्म ३० हजार बढीकाे विवरण दर्ता गरिएको छ ।
हाल जिल्लाका ७ स्थानीय तहमा अभियानका रुपमा संचालन भैरहेको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने कार्य अन्तर्गत हालसम्म ३० हजार तीन सय ९४ जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दुई पालिकामा दर्ता कार्य सम्पन्न भैसकेकाे जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।
आगामी चैत्र महिना सम्म सम्पूर्ण नागरिकको विवरण संकलन कार्य गरिसक्ने गरी गत पौष २० गतेबाट शिविर सञ्चालन गरिएको हाे ।
जिल्लाको मंगलसेन, कमलबजार र बान्नीगढी जयगढ गाउँपालिकाबाट शुरु गरिएको शिविर हाल रामाराेशन गाउँपालिका, साँफेबगर नगरपालिका र पञ्चदेवल विनायक नगरपालिका र चाैरपाटी गाउँपालिकामा पनि शुरु गरिएको अछामका प्रमुख जिल्ला अधिकारी गाेकर्ण प्रसाद उपाध्यायले जानकारी दिनु भयाे ।
आईतबार सम्म जिल्लाको मंगलसैन नगरपालिकामा ८ हजार छ सय ३० जना, बान्नीगढी जयगढ गाउँपालिकामा ५ हजार २ सय ४७ जनाकाे विवरण संकलन गरि ती दुई पालिकामा दर्ता कार्य सम्पन्न भैसकेकाे प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
यस्तै कमलबजार नगरपालिकामा ५ हजार ६ सय ५१ जना, साँफेबगर नगरपालिकामा ४ हजार ६ सय ७० जना र पञ्चदेवल विनायक नगरपालिकामा १ हजार ९ सय ७० जना तथा चाैरपाटी गाउँपालिकामा ४ सय ९७ जनाको विवरण संकलन गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायकाे भनाइ छ ।
नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको रुपमा नेपाल सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ ।
अछाम जिल्लामा राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि स्थानीय तहका वडा तहसम्म शिविर सञ्चालन गरिएको छ । शिविर प्रभावकारी भैरहेको स्थानीय तहका जनप्रतिनिधिले समेत बताएका छन् ।