दुर्लभ र कम मात्रै देखिने चरा नेपालमा भेटिए, रैथाने जातका नकटा हाँस लोप हुने अवस्थामा

माघ २७, २०७७ मंगलबार

काठमाण्डाै – दुर्लभ र कम मात्रै देखिने गरेका चरा नेपालमा भेटिएका छन् । यसअघि कमै मात्र देखिने गरेको र त्यो पनि एउटा मात्रै भेटिने गरेकामा अहिले भने दुई वटा भेटिएको चराविद्ले बताएका छन् ।

देशका विभिन्न ठाउँमा अहिले चरा गणना भइरहेको छ । यसै क्रममा दुर्लभ चरा भेटिएका चराविद् डाक्टर हेमसागर बरालले  जानकारी दिनुभयो । उहाँकाअनुसार नेपालमा कमै मात्र देखिने म्यान्डरिन डक्स नाम गरेको हाँस र बैकाल तिल हाँस भेटिएको हो । पोखराको फेवातालमा म्यान्डरिन डक्स र सुनसरीको बर्जु तालमा बैकाल तिल हाँस देखिएको हो ।

म्यान्डरिन डक्स यसअघि नेपालमा आक्कलझुक्कल एउटा मात्रै देखिने गरेकोमा यसपालि दुई वटा भेटिएको पनि चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो । यी दुई प्रजातिका हाँस नेपालमा पाँच पटकभन्दा कम देखिने चराको सूचीमा सूचीकृत छन् । म्यान्डरिन चीनबाट र बैकाल तिल हाँस साइबेरियाबाट नेपाल आएका चरा हुन् ।

फिरन्ते यी चरा चिसो छल्न त्यहाँबाट नेपाल आएका चराविद्ले बताएका छन् । यसैबीच नेपालको  रैथाने जातको नकटा हाँस सङ्कटमा परेको छ । यसअघि मेचीदेखि महाकालीसम्मका जुनसुकै तालतलैयामा भेटिने गरेको यो हाँस अहिले सङ्कटमा परेको चराविद् डाक्टर हेमसागर बरालले बताउनुभयो ।

यो प्रजातिको हाँस अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै भेटिने गरेको पनि उहाँले जानकारी दिनुभयो ।  यो हाँस नेपालको रैथाने जातमा सबैभन्दा ठूलो हाँस हो  । यसलाई  अङ्ग्रेजीमा कम्ब डक पनि भनिन्छ । चराविद् डा. हेमसागर बरालकाअनुसार पश्चिममा घोडाघोडी ताल, शुक्लाफाँटाका तालहरुमा यसले बच्चा कोरल्ने गर्छ ।

नेपालको तराईमा बच्चा कोरल्नेमध्येको यो सबैभन्दा ठूलो हाँस हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button