
अछाममा ४० हजार बढीको राष्ट्रिय परिचय पत्रमा विवरण संकलन
टेकराज भण्डारी, माघ २७, अछाम
अछाममा ४० हजार बढीको राष्ट्रिय परिचय पत्रमा विवरण संकलन गरिएको छ । जिल्लाका ८ स्थानीय तहमा हालसम्म ४० हजार ६ सय २७ जनाको विवरण संकलन गरिएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । जिल्लाका तीन स्थानीय तहमा विवरण संकलन कार्य सकिसकेको छ ।
सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकामा ८ हजार ६ सय ३० जना, कमलबजार नगरपालिकामा ६ हजार ४ सय १४ जना तथा बान्नीगढी जयगढ गाउँपालिकामा ५ हजार २ सय ४७ जनाको विवरण राष्ट्रिय परिचय पत्रका लागि संकलन गरिएसंगै तीन पालिकामा विवरण संकलन कार्य सकिएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उक्त तीन पालिकाका बसोबास गरिरहेका र नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सम्पूर्णले विवरण दर्ता गराएका छन् । रोजागारीको शिलशिलामा बाहिर रहेकाहरुको विवरण भने संकलन हुन सकेको छैन ।
अभियानको रुपमा विवरण संकलन गर्ने कार्य भैरहेको अछाममा सोमबारसम्म साँफेबगर नगरपालिकामा ६ हजार ३ सय २० जना, रामारोशन गाउँपालिकामा ६ हजार ५ सय ३ जना, पञ्चदेवल विनायक नगरपालिकामा ५ हजार ४७ जना, चौरपाटी गाउँपालिकामा २ हजार २ सय ५३ जना तथा ढकारी गाउँपालिकामा २ सय १३ जनाको विवरण संकलन गरिएको छ ।
जिल्लाका ३ स्थानीय तहबाट शुरु गरिएको राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना अद्यावधिक कार्य हाल जिल्लाका १० मध्ये ८ स्थानीय तहमा सञ्चालित छ । माघ २६ गते सम्म ४० हजार ६ सय २७ जनाको विवरण संकलन भैसकेको र तीब्रताका साथ विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।
पौष २० गतेबाट अभियानका रुपमा स्थानीय तहका वडाबाट विवरण संकलन शिविर सञ्चालन भैरहेको हो । शिविर मुख्यतया २ हप्तासम्म सञ्चालन हुने गरेको छ भने आवश्यक्ताका आधारमा थपघट समेत हुने गरेको छ । ३ महिनाभित्र जिल्लामा विवरण संकलन कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भैरहेको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।
दुई स्थानीय तहमा विवरण संकलन गर्ने कार्य सकिएको र दुई स्थानीय तहमा शुरुवात गर्न बाँकी रहेको छ । साँफेबगर, कमलबजार लगायतका पालिकामा नागरिकको विवरण संकलन कार्य अन्तिम चरणमा पुगेको बताईएको छ । लक्ष्य अनुसार नै काम भैरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायको भनाई छ । अछाम जिल्लामा २०७६ साल असार २६ गतेदेखि जिल्ला प्रशाशन कार्यालयलमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्यको शुभारम्भ गरिएको थियो ।
जिल्ला प्रशाशन कार्यालयबाट हालसम्म ७ हजार १ सय १४ जनाले विवरण दर्ता गराएका छन् । स्थानीय तहमा सञ्चालित शिविर र जिल्ला प्रशाशन कार्यालयमा गरी हालसम्म ४७ हजार ७ सय ४१ जनाको विवरण संकलन भएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशाशन कार्यालयमा विवरण दर्ता गराएकामध्ये हालसम्म १ हजार १ सय ३७ जनाको राष्ट्रिय परिचयपत्र तयार भैसकेको छ भने १ सय ७० जनाले परिचयपत्र लिईसकेका छन् । नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु उपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको रुपमा नेपाल सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ ।