अछाममा युवाहरुले बनाइदिए विपन्‍नको घर

अछाम: अछाम साँफेबगरका युवाहरु मिलेर साँफेबगरकै एक विपन्न परिवारको घर निमार्ण गरिदिएका छन् । युवाहरुले सामूहिक रुपमा आर्थिक संकलन गरी साँफेबगर नगरपालिका ३ का नवराज ओडको घर निमार्ण गरिदिएका हुन् ।

कोरोना भाइरसले लकडाउन हुँदा समस्यामा परेका परिवारलाई राहत वितरणको क्रममा गाउँ जाँदा नवराजको परिवारको अवस्था दयनीय देखेपछि युवाहरुले आफ्नै पहलमा घर निर्माण गरेका हुन् ।

ओडको परिवारमा १३ जना सदस्य रहेको र आर्थिक अवस्था कमजोर भएकाले ब्ल्याक एन्जल्स युवाक्लबका दशरथ कुँवर, योगेश कुँवर, गोपाल कुँवर, विक्की चौहान, जर्ज कडायत लोकजन बोगटी लगायत युवाहरुको सक्रियतामा घर निर्माण भएको हो ।

ओडका छोराछोरी र आमासँगै सबै परिवार नै त्रिपालमुनी बसेको देख्दा पनि स्थानीय सरकारले बेवास्ता गरेपछि आफूहरु घर बनाउन लागि परेको युवा क्लबका योगेश कुँवरले बताए ।

उनले भने ‘गाउँतिर जाने क्रममा त्रिपाल हालेर बसेको देख्यौँ, सबै कुरा बुझ्दा नवराजसँग घर बनाउन सक्ने आर्थिक अवस्था नभएको थाहा भयो अनि क्लबका सबै साथीहरु मिलेर बरु छ महिना खाजा नखाने तर नवराजको घर निर्माण गरिदिने सल्लाह गर्‍यौँ ।’

ओडको घर ३ महिनामै क्लबकै खर्चमा निर्माण गरिएको क्लबका दशरथ कुवँरले बताए । आगामी दिनहरुमा पनि समाजको स्तरोन्नती र विपन्नको सहयोगका लागि ब्ल्याक एन्जल्सका यूवाहरु सदैव सक्रिय रहने कुँवरले बताए ।

बिचल्लीमा परेको आफ्नो परिवारलाई घर बनाइदिकएको भन्दै ओडले खुसी व्यक्त गरे । उनले भने,‘धेरैलाई गुहार गरे कसैबाट सहयोग भएन, मेरो परिवारको लागि यी युवाहरु भगवान सरह नै भए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button