
अछामका कार्यालय प्रमुखहरुको बैठक बयालपाटा अस्पतालमा सम्पन्न
अछाम । अछाम जिल्लाका कार्यालय प्रमुखहरुको बैठक बयालपाटा अस्पतालमा सम्पन्न भएको छ । मासिक बैठक अन्र्तगत फागुन महिनाको बैठक बयालपाटा अस्पतालमा सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालय अछामको आयोजना तथा बयालपाटा अस्पतालको सहकार्यमा बैठक सम्पन्न भएको बैठकको अध्यक्षता गर्नुभएका अछामका प्रमुख जिल्ला अधिकारी गोर्कण प्रसाद उपाध्यायले बताए ।
आजको बैठकमा बयालपाटा अस्पतालले प्रदान गरिरहेका सेवा र अस्पतालको स्थितीका बारेमा अस्पतालका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठले सहभागीहरुलाई जानकारी गराएका थिए भने अस्पतालका चुनौती र समस्याका बिषयमा छलफल भएको थियो । अस्पतालले दिईरहेको सेवा दिर्घकालिन गर्न स्थानिय निकायलाई सहयोगका लागि आग्रह गर्ने र सोको सहजिकरण आफुले गर्ने प्रजिअ उपाध्यायले बचन दिएका छन् ।
यस्तै बैठकमा प्रमुख जिल्ला अधिकारी गोर्कण प्रसाद उपाध्यायले जिल्ला विभिन्न कार्यालयबाट भईरहेका कामका बारेमा जानकारी लिएका थिए । साथै उनले जिल्लामा भईहरेका विकास निर्माण लगायतका क्षेत्रमा बढी केन्द्रित भएर छिटो काम सक्न सम्बन्धीत कार्यालयलाई निर्देशन दिएका थिए ।
जिल्लामा हुने गरेका विभिन्न विकास निर्माणका कामहरुको प्रभावकारी अनुगमन हुनुपर्नेमा प्रजिअको जोड थियो । सड्क छेउछाउमा अतिक्रमण गरि निर्माण गरिएका टहरा तथा सामान थुपार्ने कार्य तत्काल हटाउनका लागि सम्बन्धीत पालिकाले सुचना जारी गर्ने निर्णय समेत बैठकमा भएको छ ।
पर्सी फागुन ७ गते प्रजातन्त्र दिवस सफल र सभ्य रुपमा मनाउन आवश्यक तयारी स्वरुप समन्वय तथा छलफल गर्ने र छाउपडी कुप्रथालाई न्यूनिकरण गर्न दोश्रो चरणमा सम्बन्धीत निकायले अनुगमन गर्ने त्यसको प्रतिवेदन पेश गर्ने लगायतका निर्णय बैठकमा भएका छन् ।
बैठक सुरु हुनुपुर्व सहभागीहरुको सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । बयालपाटा अस्पतालमा कार्यरत नर्सहरु निरा पुनमगर र पार्वती टमट्टाले बैठकमा सहभागीहरुको रक्तचाप लगायतका सामान्य स्वास्थ्य जाँच गरेका थिए ।
हरेक कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी तथा पार्दशी रुपमा अगाडी बढाउन समेत प्रजिअ उाध्यायले सबै कार्यालय प्रमुखलाई आग्रह गरेका थिए । मासिक रुपमा जिल्लाका बिभिन्न ठाँउमा घुम्ती रुपमा बैठक गर्ने निर्णय अनुसार यसपटकको बैठक बयालपाटा अस्पतालमा गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।