कर्मचारी संगम अछामको “अछाम आँखीझ्याल” अछाम चियाउने प्रयास

टेकराज भण्डारी


अछाम जिल्ला तथा सुदूरपश्चिम क्षेत्रका विविध विषयवस्तुको संगालो “अछाम आँखीझ्याल” पुस्तकको प्रकाशन गरिएको छ । कर्मचारी संगम अछामले पुस्तकको प्रकाशन गरेको हो । पुस्तकमा प्राज्ञ देखि पत्रकार सम्मका विभिन्न लेख तथा जिल्लाको चिनारी रहेको अछामका प्रमुख जिल्लाका अधिकारी समेत रहनु भएका कर्मचारी संगमका संरक्षक गोकर्ण प्रसाद उपाध्यायले बताउनु भयो ।
संगमले प्रकाशन गरेको “अछाम आँखीझ्याल” को केही समय अघि विमोचन गरिसकिएको छ । जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले पुस्तक विमोचन गर्नुहुँदै “अछाम आँखीझ्याल” पुस्तक अछामका लागि महत्वपूर्ण दस्तावेज भएको बताउनु भयो । पुस्तकमा विभिन्न क्षेत्रका १८ वटा लेख रहेका छन् ।
कर्मचारी संगम अछामका अध्यक्ष तथा जिल्ला नापी अधिकृत धर्मराज ओझाले अछाम जिल्लालाई थोरै भएपनि कर्मचारीको माध्यमबाट चिनाउने उद्देश्यले पुस्तक प्रकाशनमा ल्याईएको बताउनु भयो ।
प्राकृतिक रुपले सुन्दर अछाममा अवस्थित चारधाम मध्येको एक वैद्यनाथ धाम होस् वा मंगलसैनको टुप्पोमा अवस्थित मालिका मन्दिर, घुमाउरो कर्णाली होस् वा पश्चिमबाट पूर्व बग्ने पवित्र सेती, कर्णाली र सेतीको संगम बेनीघाट होस् वा बुढीगंगा र सेतीको संगम लोडेघाट, रामारोशनका बाह्र बण्ड अठार खण्ड होउन् वा विनायकमा रहेका पञ्चदेवल लगायतका जसरी यी प्राकृतिक धार्मिक र सांस्कृतिक सम्पदाहरुले अछामलाई चिनाएका छन् । त्यसैगरी यहाँको सार्वजनिक सेवा प्रवाह र कर्मचारीतन्त्रले पनि यसलाई थोरै भएपनि चिनाओस् र अछामको सेरोफेरो जनमानसले पनि बुझ्न पाउन भन्ने हेतुले कर्मचारी संगमको तर्फबाट “अछाम आँखीझ्याल” पस्किएका छौँ भनेर अध्यक्ष ओझाले उल्लेख गर्नुभएको छ ।
पुस्तकको सबैभन्दा पहिले १७ औँ निजामति कर्मचारी दिवसको अवसरमा अछामका कर्मचारीले प्रतिवद्धता गरेका १७ वटा प्रतिबद्धता उल्लेख गरिएको छ । त्यसपछि अछाम जिल्लाको चिनारी राखिएको छ । जिल्लाको भौगोलिक, राजनीतिक प्रशाशनीक, नदीनाला, पर्यटकीय क्षेत्र लगायतको बारेमा जानकारी सहित जिल्लाका १० वटै स्थानीय तहको विवरण उल्लेख गरिएको छ ।
पहिलो लेखका रुपमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कलाकार यज्ञराज उपाध्यायको “काली –कर्णाली क्षेत्रमा प्रचलित न्याउल्या गीतको नालिबेली तथा संरक्षणको आवश्यक्ता” शीर्षकको लेख छ ।
कालीको लड्कन्या माछो कर्णालीका भेल
हृदय जल्याको जल्यै कैल होला सेल

भन्दै विषय प्रवेश गरिएको छ । न्याउल्यागीतको चिनारी, उत्पति, न्याउल्या तथा डेउडाको अन्तरसम्बन्ध, संरचना, गायन पद्धति, खेलविधि, प्रस्तुती, संरक्षणको आवश्यक्ता लगायतका उपशीर्षकमा लेखलाई प्रस्तुत गरिएको छ । यसैगरी अछामको पूर्व प्रमुख जिल्ला अधिकारी समेत रहनु भएका पूर्व सचिव कृष्णहरी बास्कोटाको “सम्झनामा अछाम” नामक लेख संग्रहित छ । उहाँले अछाममा रहँदा संगालेका र सेवा प्रवाहका विभिन्न संस्मरणहरुलाई सरल रुपमा प्रस्तुत गर्नुभएको छ । उहाँको लेखबाट २०५१ सालको अन्त्यतिर अछामको सिडियो हुँदाको प्रसंग, त्यसबेलाको अवस्था लगायतका बारेमा बुझ्न सकिन्छ । बास्कोटालाई अहिले पनि अछामी जनताले सम्मानका साथ राम्रो काम गर्ने सिडियोका रुपमा सम्झिरहन्छन् ।

पुस्तक विमाेचनपछि विमाेचनमा सहभागी प्रमुख अतिथि, प्रमुख जिल्ला अधिकारी लगायत


यस्तै “सिगास धाम र यसको आल”का बारेमा डाक्टर हरिदत्त पाण्डेयको लेख रहेको छ । बैतडी जिल्लामा रहेको सिगास धामको बारेमा लेखमा चर्चा गरिएको छ ।
यस्तै पुस्तकमा प्रमुख सन्दर्भका रुपमा अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको “अछाममा सेवा प्रवाहको अवस्था र सुधारका लागि निर्देशन” नामक लेख रहेको छ । पेज नम्बर २९ देखि ५५ सम्म रहेको यस लेखमा अछाममा पहिलो पटक १० वटै स्थानीय तहमा गरिएका सार्वजनिक सेवा प्रवाह सम्बन्धिको सार्वजनिक सुनुवाई, त्यसमा सहभागि तथा सरोकारवालाको धारणा, जिज्ञासा जिज्ञासामा सम्बन्धित व्यक्तिको जवाफ सहित जिम्मेवार पक्षको निर्देशन समेत समेटिएको छ । दशवटै स्थानीय तहमा प्रायः सबै व्यक्तिले राख्नुभएको जिज्ञाशा तथा भनाईलाई समेटिएको छ । उनीहरुका जिज्ञासालाई सम्बोधन गर्ने तथा अवस्था अनुसारको जिल्ला तहबाट प्रतिनिधित्व गर्नुहुने जिल्ला समन्वय समिति प्रमुख, सिडियो, डिएसपी, नापी कार्यालयका प्रमुखले दिनुभएको जवाफ लेखमा समेटिएको छ ।
पुस्तकमा अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ध्रुव कुमार शाहीको “अछामी लोकवार्ता” लेख संग्रहित छ । अछाम जिल्लाका विभिन्न क्षेत्रमा बोलिने भाषालाई उहाँले आफ्नो लेखमा लिपिबद्ध गर्नुभएको छ । पुस्तकमा जिल्लाका विभिन्न विषयगत कार्यालयले आफ्नो क्षेत्रसंग सम्बन्धित विषयको बारेमा समेत लेख लेखिएका छन् । जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख छपेन्द्र प्रसाद शर्माको “अछाममा प्राङ्गारिक कृषि पद्धतिलाई दिगो बनाऔँ” भन्ने जानकारीमुलक लेख छ । शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख लक्ष्मण गिरीले “विद्यार्थी सिकाई सहजीकरण ः तयारी र कार्यान्वयन” शिर्षकमा लेख लेख्दै कोरोना भाईरसको महामारीको अवस्थामा बालबालिकालाई गरिने सहजीकरणका सम्बन्धमा लेखमा चर्चा गर्नुभएको छ ।
वयालपाटा अस्पतालका मेडिकल सेवा निर्देशक डाक्टर विकास गौचनले “बयालपाटा अस्पतालको विगत र वर्तमान” शीर्षकमा अस्पतालको विकास र सेवाको बारेमा उल्लेख गर्नुभएको छ भने जिल्ला नापी अधिकृत धर्मराज ओझाले “अछाम जिल्लामा द्वन्द्वपछिको भूमि लगतको अवस्था” सम्बन्धि लेख लेख्नुभएको छ । अछाम जिल्ला २०५८ सालमा जिल्ला आक्रमण् हुँदा नापनक्सा बिहिन भएको अवस्था पश्चात विशेष नापी कार्यालयबाट नापनक्सा हुँदा समेत हाल १४ हजार ७ सय ५६ परिवारले लालपुर्जा नपाएको तथ्यांक रहेको छ । जिल्ला न्यायधिवक्ता चुरामणी पराजुलीको “अछाममा फौजदारी कसुरको स्वरुप” शीर्षकको लेख रहेको छ । तुर्माखाँद गाउँपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत बासुदेव भण्डारीले “तुर्माखाँद गाउँपालिकाको विकासका समसामयिक सवालहरु”मा गाउँपालिकाका विकासका सवालहरुलाई उजागर गर्नुभएको छ ।

यस्तै राजन श्रीवास्तवले “अछाममा मतदाता नामावली कार्यक्रमको विश्लेषण” आफ्नो लेखमार्फत गर्नुभएको छ । जसअनुसार २०७४ सालको संघीय तथा प्रदेश सभा सदस्यको निर्वाचन सम्म १ लाख ३६ हजार ९ सय ३ जना मतदाता रहेकोमा २०७७ असार समान्त सम्म १ लाख ५३ हजार ५ सय ७४ मतदाता रहेको लेखमा उल्लेख छ । पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशाशकीय अधिकृत तथा साहित्यकार पवन मधुश्री (पदम बहादुर माझी) को “कागले कान लग्यो” शीर्षकको लेख पनि पुस्तकमा संग्रहित छ ।

पुस्तकमा जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकरज ढुंगानाको “कोरोना भाईरस (कोभिड–१९) ः परिचय तथा अछाम जिल्लाको अवस्थका”को चर्चा गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनि लि. का निमित्त शाखा प्रवन्धक हिरामणी जोशीले “कोरोना, बन्दाबन्दी र खाद्य व्यवस्थापन” सम्बन्धिमा लेख लेख्नुभएको छ । यसैगरी महेश क्षेत्रीको “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को बारेमा लेखमार्फत जानकारी गराउनु भएको छ । पुस्तकमा कान्तिपुर दैनिकका अछाम सम्बाददाता पत्रकार मेनुका ढुंगानाको “छाउपडी कु–प्रथा विरुद्ध सामाजिक युद्ध लडौँ” शीर्षकको लेख छ । जसमा अछाममा छाउपडी प्रथाको अवस्थामा यसबाट ज्यान गुमाएकाको जानकारी, गर्नुपर्ने कार्य लगायतको कुरा उठान गरिएको छ । यस्तै सामाजिक क्षेत्रमा कार्यरत हरिशचन्द्र रावलको “अछाममा एचआईभी÷एड्सको अवस्था र रोकथामका प्रयासहरु” शीर्षकको लेख संग्रहित छ ।
पुस्तकमा जिल्ला स्थित संघीय कार्यालय, प्रदेश स्तरीय कार्यालय, स्थानीय तहका प्रमुख तथा कार्यालय प्रमुख, संस्थानहरुको नाम तथा कार्यालय÷प्रमुखहरुको सम्पर्क नम्बर समेत छुट्टाछुट्टै रुपमा राखिएको छ । पुस्तकमा जिल्लाका विभिन्न पर्यटकीय, धार्मिक क्षेत्र तथा संगमका गतिविधिसंग सम्बन्धित पक्षका तस्वीर समेत राखिएका छन् । पुस्तकको सम्पादन कर्मचारी संगमका संरक्षक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय र सहसम्पादन संगमका अध्यक्ष धर्मराज ओझाले गर्नुभएको छ ।

पुस्तक पठनीयका साथै संग्रहणीय समेत रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker