मेरो छोरालाई मलेसियामा तपाईंले कतै देख्नुभएको छ त ?’

खोटाङ – छिमेकतिर घुम्न गएको छोरा साँझ अबेरसम्म घर नआउँदा त आमाको मन अत्तालिन्छ, झन् परदेश गएको छोरा वर्षौंसम्म बेखबर भइदिँदा के हुन्छ ?

खोटाङ केपिलासगढी ५, सुङ्देलकी ७४ वर्षीय रणमाया विकका आँखा छोरा आउने बाटो हेर्दाहेर्दै थाकिसके । तर न छोरा आउँछ, न त छोराको खबर नै आइपुग्छ ।आफ्नाे नातिकाे साथमा रणमाया विकआफ्नाे नातिकाे साथमा रणमाया विक

२०७१ सालमा वैदेशिक रोजगारीको लागि मलेसिया जानुभएको थियो महावीर विक । घर खर्च चलाउन गाउँघरमा कुनै बाटो नदेखेपछि सपनाको भारी बोकेर महावीर मलेसिया लाग्नुभयो ।

केही वर्ष दुःख जेलो गरेर परिवारलाई सुख दिने रहरले वैदेशिक रोजगारीमा जानुभएका महावीर अहिले कहाँ छन्, के गर्दै छन् केही पत्तो छैन । आफ्नो नातिलाई हेरेर कति बेला छोराको झझल्को मेट्नुहुन्छ रणमाया । तर जब नातिले आफ्ना बुवाको कुरा निकाल्छ अनि उत्तरविहीन बन्नुहुन्छ ।

‘७ वर्ष भयो छोरो विदेश गएको, काखे नातिलाई छाडेर गएको थियो, अहिले नाति यत्रो भइसक्यो’, छेउमै उभिएका महावीरका सात वर्षीय छोरालाई देखाउँदै भन्नुहुन्छ, ‘यसले पनि बाबा कहिले आउनुहुन्छ भनेर सोधिरहन्छ, म के भनौँ ?’

‘राम्रो कमाइ नहुँदा बेपत्ता भयो’

परिवारमा खुसी ल्याउने आशा बोकेर महावीर वैदेशिक रोजगारीमा जानुभएको थियो । आफूसँग त पैसा थिएन । गाउँका एक साहूबाट ऋण लिएरै भए पनि उहाँ मलेसिया जानुभयो । मलेसिया जाँदा १ लाख ७५ हजार रुपैयाँ लागेको रणमाया बताउनुहुन्छ । 

छोरा विदेश गएपछि रणमायाको मनमा पनि आशा पलाएको थियो । उहाँलाई लाग्न थालेको थियो, ‘अब त दुःखका दिन जाने भए ।’ तर सधैँ सोचेको कहाँ पूरा हुन्छ र । 

मलेसियामा सुरक्षा गार्डमा जानुभएको थियो महावीर । त्यहाँ गएको केही वर्षसम्म त घरपरिवारमा सम्पर्क गर्नुहुन्थ्यो । कुरा हुँदा छोराले कमाइ नभएको भन्दै गुनासो गर्ने गरेको रणमाया बताउनुहुन्छ । तर बिस्तारै कुराकानी गर्न पनि कम गर्न थाल्नुभयो । रणमायालाई लाग्छ, छोराले कमाउन सकेन होला त्यसैले घरमा सम्पर्क गर्न मन लाग्दैन होला । महावीरले नि फोनमा त्यसै भनेका थिए ।

‘कमाई छैन, आएको ऋणसम्म पनि तिर्न सकेको छैन भन्थ्यो सुरुसुरुमा, पछि त फोन पनि गर्न छाड्यो’, रणमायाले लामो श्वास तान्दै भन्नुभयो, ‘म विदेश गएपछि घरपरिवारमा दु.ख गर्नु पर्दैन, लगेको ऋण एक वर्षमै चुक्ता गरिहालिन्छ भन्थ्यो, तर त्यति धेरै आड भरोसा दिने छोरा अहिले आफैं कहाँ, के गर्दै छ केही थाहा छैन ।’

घरमा साहूको ऋणको बोझ । ऋण चुक्ता गर्छु भनेर गएको छोरा सम्पर्कमै छैन । साहूको दिनहुँको घरमा आउजाउ । पहिले त छोराले पठाएपछि ऋण चुक्ता गर्छु भन्नुहुन्थ्यो । छोरासँग सम्पर्क हुन छाडेपछि त्यो भन्ने बाटो पनि रहेन । रणमायालाई छटपटीले सताउन थाल्यो ।

त्यसपछि घरमा भएका लैना भैँसी, एक हल गोरु, सुँगुर, कुखुरा बेचेर र खेताला पात गएर साहूको  ऋण तिर्नुभयो । साहूको सबै ऋण तिरिसकेको खबर सुनाउन मन थियो रणमायालाई तर महावीरसँग सम्पर्क भए पो ।

महावीरका साथीहरूसँग बुझ्दा पनि सम्पर्क नभएको भन्ने खबर आउन थाल्यो । महावीरका दाइ रघु विक पनि मलेसिया जानुभएको थियो । त्यति बेला भाइसँग कुरा गर्दा घरमा पठाउने पैसा छैन भन्ने गुनासो गर्ने गरेको रघु बताउनुहुन्छ । अहिले त रघुसँग पनि सम्पर्क हुँदैन महावीरको ।

महावीर गाउँको छिमेकी एजेण्टमार्फत मलेसिया जानुभएको थियो । आफ्नो छोराको बारेमा बुझिदिन एजेण्टसँग आग्रह पनि गर्नुभयो रणमायाले । एजेण्टले केही सहयोग गरिदिन्छ कि भन्ने लागेको थियो । तर एजेण्टले ‘तिम्रो छोरा कम्पनी छाडेर  भागिसक्यो’ भनेपछि रणमाया झन् निराश हुनुभयो । 

‘छोरा कुन कम्पनीमा गएको थियो, भागेर अहिले कहाँ गयो केही थाहा छैन’,  रणमाया निराश सुनिनुभयो ।

छोरा आउने आशामा

रणमायाको परिवारमा उहाँका श्रीमान्, दुई छोरा बुहारी र नाति गरी ६ जना थिए । लामो समयसम्म महावीर फर्केर घर नआएपछि उनकी श्रीमतीले छाडेर गइन् । काखे छोराको माया पनि लागेन । त्यसपछि झन् समस्या भयो रणमायालाई । नातिका आँसु पुछ्नु कि आफ्नै आँसु पुछ्नु । उहाँका हरेक रात नातिको अनुहार हेर्दै छोराको यादमा बित्न थाले ।

घर आँगनको छेउ । त्यहाँबाट तल बाटोमा मानिस आए गएको देखिन्छ । त्यहीँ बसेर परदेश गएको आफ्नो छोरा आउँछ कि कतै भनेर नजर लगाइरहनुहुन्छ रणमाया । उहाँले अझै आशा मार्नुभएको छैन । छोराको फोटो बोकेर कहिले पालिकामा पुग्नुहुन्छ त कहिले आप्रवासी स्रोत केन्द्र धाउनुहुन्छ ।

छोरा खोजी माग्न जाने बुझेका जति सबै कार्यालयमा पुगिसक्नुभयो । तर छोरासँग सम्पर्क गराउन कसैले सकेको छैन । अहिले महावीरका  छोरा  गणेश ७ वर्षका छन् ।  गाउँभरी  विदेश जानेको लहर छ । फर्केर आउने पनि उत्तिकै धेरै छन् ।

अरूका बुवा आमा फर्केर आएको देख्दा गणेशले आफ्नो हजुरआमासँग सोध्छन्, ‘साथीहरूका बुवाहरू फर्केर आइसके, मेरो बाबा चाहिँ कहिले आउनुहुन्छ आमा ?’

त्यति बेला नातिलाई दिनको लागि रणमायासँग कुनै जवाफ हुँदैन । तर पनि मन गह्रुँगो पारेर सम्झाउँदै भन्नुहुन्छ, ‘एक दिन अवश्य आउँछ बाबु, तिमी चिन्ता नगर ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker