
अछाम।
अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ विन्धेवासिनी स्थित जनता माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि, शिक्षा अधिकृत बिच अन्तरक्रिया कार्यक्रम भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घराज खड्काको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाही रहनु भएको थियो।
प्रमुख अतिथि शाहीले शैक्षिक उन्नतीका लागि शिक्षक अभिभावक विद्यार्थी लगायतका सरोकारवालाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भएको छ। जनता माध्यामिक विद्यालय मल्लेखकै अग्रज विद्यालय भएकाले नमुना विद्यालय बनाउनमा गाउँपालिकाबाट आवश्यक स्रोत साधनको व्यवस्थापन गरिने प्रतिबद्धता पनि जनाउनु भयो।
अन्तरक्रिया कार्यक्रमका विशिस्ट अतिथि मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले विद्यालयको समग्र विकासका लागि त्रिपक्षीय सम्बन्ध राम्रो हुनु पर्ने बताउनु भएको छ। उहाँले अबको शिक्षा प्रविधिक र व्यवहारिक शिक्षा हुनु पर्नेमा जोड दिए मात्रै शिक्षामा बालबालिकाको भविष्य उज्वल हुने बताउनु भयो। विद्यालयको शौचालय, खानेपानीका लागि आवश्यक सहयोग गाउँपालिकाबाट गरिने पनि उहाँले बताउनु भयो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्का विशिस्ट अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष रमेश बहादुर खड्काले विद्यालयमा गर्नु पर्ने आवश्श्यक सहयोग गर्न आफु सधैं तयार रहेको बताउनु भएको छ। यस अघि भएका कमी कमजोरीलाई औँल्याउँदै सुधार तर्फ लैजानु पर्नेमा खड्काले जोड दिनु भएको थियो। अन्तरक्रिया कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावक, विद्यार्थी, जनप्रतिनिधि लगाएतका सरोकारवालासंग प्रश्न उत्तर सहित व्यापक छलफल गरिएको थियो।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विद्यालयको भौतिक, शैक्षिक सुधारका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने र सिकाई उपलब्धीमा बृदि गर्नमा विशेष जोड दिने प्रतिबद्ध जनाएका छन्। विद्यालयको समग्र विकास का लागि सबैले सहयोग गर्नु पर्ने विषयमा पनि छलफल भएको थियो। अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य पदम बहादुर खड्का, वीर बहादुर साउँद, जनता माध्यामिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाश अधिकारी, सबै विद्यालयको तर्फबाट खापर आधारभुत विद्यालयका प्रधानध्यापक नन्द बहादुर खड्का, कलाकार टेकराज बिक, समाजसेवी सुरेन्द्र साउँद लगायतका अभिभावक शैक्षिक सारोकारवालाले सुझाव राख्नु भएको थियो।
अन्तरक्रिया कार्यक्रमको सहजिकरण मेल्लेख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बिरेन्द्र खड्काले गर्नु भएको थियो। शिक्षक राम बहादुर साउँदले स्वागत मनतव्य राख्नु भएको कार्यक्रम संचालन प्रधानध्यापक नृप बिकले गर्नु भएको थियो। अन्तरक्रिया कार्यक्रम मेल्लेख गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको प्राविधिक सहयोग र जनता माध्यामिक विद्यालयको आयोजनामा भएको थियो।
सोहि कार्यक्रममा इलाका प्रहरी कार्यलय साफेका प्रहरी निरक्षक सुरेन्द्र प्रसाद जोशीले सामाजिक संजाल मार्फत विद्यार्थीमा पर्ने असर र सकरात्मक कुरा बारे जानकारी गराउनु भएको थियो।