अछामका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी

आगलागीका कारण सुकेका वनपैदावरहरू

आगलागीका कारण वनपैदावर नष्ट, गाउँ धुँवामय, स्थानीय उपभोक्ता आगलागी नियन्त्रणमा उदासीन
टेकराज भण्डारी, फागुन २०, अछाम
अछामका सामुदायिक वनमा व्यापक रुपमा आगलागी भएको पाईएको छ । गर्मीयाम बढेसंगै जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा आगलागि भएको पाईएको हो ।

वनमा आगलागी भएसंगै नजिकै रहेका गाउँवस्ती समेत धुँवामय बनेका छन् । गर्मीयाम बढेको, लामो समयदेखि पानी नपरेको र बनमा आगलागी भएपछि धुवाँधुलोले वायुप्रदुषण समेत भएको छ । वनमा आगलागी भएसंगै नजिकै रहेका गाउँमा धुवाँ भरिएको पाईएको छ । वन नजिकै रहेका गाउँमा पुरै धुँवाले भरिएको स्थानीयले बताएका छन् ।

अहिले सदरमुकाम मंगलसेन नजिकै रहेका मंगलसेन, कमलबजार, बान्नीगढी जयगढ, चौरपाटी, रामारोशन लगायतका स्थानीय तहका सामुदायिक तथा राष्ट्रिय वनहरुमा आगलागी भैरहेको पाईएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ७ मा रहेको लामाडाँडा कालापातल सामुदायिक बनमा विगत ५ दिनदेखि डढेलो फैलिएको छ । डढेलोका कारण आफ्नो गाउँमा धुँवाले निकै प्रदुषण बढाएको वडा नम्बर ७ का स्थानीय अगुवा कालुसिंह विकले बताउनु भयो । लामाडाँडा कालपातल सामुदायिक वनसंगै कमलबजार नगरपालिका वडा नम्बर ६ मा रहेको टिमिलेगैरा वाटाथला सामुदायिक वनमा पनि आगलागी भएको र आगलागिका कारण दुवै वन जलेका उहाँले बताउनु भयो ।

कमलबजार नगरपालिका वडा नम्बर ७ जामा सेराको सिमानामा रहेको बनबाट आगो आएको र आगोले क्रमश वनहरु जल्दै आएको विकले बताउनु भयो । आगलागी भएपछि आगो नियन्त्रणका लागि सामुदायिक वनका पदाधिकारी, उपभोक्ता तथा स्थानीय अग्रसर नभएको पाईएको छ । आगो कसले लगायो भन्ने छानविन गने र दोषीलाई कारबाहीको दायरामा ल्याउने काम समेत जिल्लामा भएको पाईँदैन ।
आगलागी नियन्त्रणका लागि स्थानीय तथा उपभोक्ता सक्रिय बन्नुपर्ने डिभिजन वन कार्यालय अछामका प्रमुख नारायणदेव भट्टराईको भनाई छ । देश संघीयतामा गएको र वनको संरक्षणका लागि स्थानीय तह, उपभोक्ता तथा वनका पदाधिकारी एकजुट हुनुपर्ने उहाँको भनाई छ ।

घाँस राम्रो हुने र सल्लीपरिले वनक्षेत्र चिप्लो हुने भन्दै आगो लगाउने गरेको पाईन्छ । यसले गर्दा वनजंगमा रहेका चराचुरुंगी, जनावर, वनपैदावर, जडिबुटी, घाँस, दाउरा, स्याउला लगायतका वस्तु नष्ट हुने गरेका छन् । कलिला रुखहरु जलेर नष्ट भैरहेको र वन्यजन्तुमा समेत नराम्रो असर पर्ने गरेको पाईएको छ । केही दिन पहिले जिल्लाको बन्नीगढी जयगढ बजार नजिकैको वनमा आगलागी हुँदा आगो बजार क्षेत्र तथा घर नजिकै पुगेको थियो । प्रहरी तथा स्थानीयको पहलबाट आगो नियन्त्रण गरिएकाले थप क्षति हुन नपाएको बताईएको छ । वनमा बर्षेनी आगलागि हुने गरेपनि आगो लगाउनेको पहिचान गरी कारबाहीको दायरामा ल्याएको भने पाईदैन ।

वन ऐन अनुसार बनमा आगो लगाउनेलाई नोक्सान भएको काठपातको बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

गर्मीयाम बढेसंगै भैरहेका आगलागी नियन्त्रणका लागि सरोकारवाला जुट्नुपर्ने देखिन्छ । बन डढेलोका कारण जिल्लामा बर्षेनी लाखौँका वन पैदावर तथा जडिबुटी नष्ट हुने गरेको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker