कर्णालीमा भेटिएका ४ शवको अछाम जिल्ला अस्पतालमा पोष्टमार्टम गरिने

कर्णाली नदीकाे बेलखेत क्षेत्र (फाइल तस्वीर)

टेकराज भण्डारी, फागुन २५, अछाम
कर्णाली नदीमा बेपत्ता भएका दैलेख जिल्लाका एकै घरका ५ जना मध्ये ४ जनाको शव अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ बेलखेत क्षेत्रमा भेटिएको छ । एकजनाको अझै नभेटिएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दैलेख आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उहाँका छोरा १० वर्षीया ललितको शव मंगलबार दिउसो १२ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ बेलखेतमा भेटिएको छ भने १६ र १२ वर्षीया छोरी कल्पना र सरिता बडुवालको शव सोमबार नै सोही ठाउँमा फेला परेको अछामका प्रहरी प्रमुख डिएपी तुल्सीराम अर्यालले बताउनु भयो ।

प्रहरीका अनुसार आमा, दुई छोरी र एक छोराको शव भेटिएको स्थान नजिकै रहेको छ ।
भेटिएका शवको जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरिने भएको छ । शव अछामको क्षेत्रमा प्राप्त भएकाले पोष्टमार्टम अछाममा गरिने अछामका प्रहरी प्रमुख डिएसपी अर्यालले बताउनु भयो । शब जिल्ला अस्पताल ल्याईएको र पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईने उहाँले बताउनु भयो ।
तीन छोरी र एक छोरासहित सोमबारदेखि कर्णालीमा बेपत्ता भएकी सुकीकी ५ वर्षीया छोरी रजनी बडुवालको खोजी कार्य भैरहेको उहाँले बताउनु भयो । घटनास्थलमा अछामका ७ जना सहित दैलेखका प्रहरी र गोताखोरको टोली खटिएको छ ।

स्थानीयका अनुसार सोमबार दिउँसो ४ बजेको समयमा सुकी छोराछोरीसहित घरबाट निस्किएकी थिइन् । तर साँझ अबेरसम्म घर नआएपछि खोजी गर्दा सोमबार नै दुई छोरीको कर्णालीमा शव फेला परेको थियो ।
मृतक सुकीका श्रीमान मानसिंह बडुवाललाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिनुभयो । दैनिकजसो मदिरा सेवन गरेर श्रीमती र छोराछोरीसंग झगडा गर्ने गरेको सूचना पाएपछि उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको शुरु गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button