माओवादी केन्द्रले सङ्गठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन गर्‍याे

  फागुन २६, २०७७ बुधबार 

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले सङ्गठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सङ्गठनात्मक संरचनाबारे गृहकार्य गर्न, प्रभावकारी रूप दिइ प्रतिवेदन पेस गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो । 

कार्यदलमा स्थायी कमिटी सदस्यहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहनुभएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठकले पार्टीको अहिलेको समग्र सङ्गठनात्मक स्थितिको यथार्थलाई अगाडि राखेर अबको सङ्गठन निर्माणको यो योजनालाई ठाेस रूप दिन केही दिनभित्रैमा प्रतिवेदन पेस गर्ने गरी चार सदस्यीय कार्यदल गठन गरेको छ ।’

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग भएको वार्ताको सम्बन्धमा जानकारी गराउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयाे । बिहीवार पनि अध्यक्ष प्रचण्डले विभिन्न पार्टीका नेतासँग थप वार्ता गर्ने जानकारी दिनुभएको थियो भने निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रलाई पठाएको पत्र अध्यक्ष प्रचण्डले बैठकमा पढेर सुनाउनुभएको थियो । 

प्रवक्ता श्रेष्ठले अन्य पार्टीसँग सहमति गरेर निष्कर्षमा पुग्नका लागि गृहकार्य गरिराखेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता गर्ने निर्णय नगरिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब अन्य पार्टीसँग पनि सहमति गरेर एउटा निष्कर्षमा पुग्नका लागि हामी गृहकार्य गरिराखेका छौँ । हामीले समर्थन फिर्ता लिने निर्णय गरेका छैनौँ ।’

स्थायी कमिटी बैठकले पार्टीको आउँदाे चैत २ गते हुने प्रशिक्षणात्मक भेलामा सहभागी हुने नेता तथा कार्यकर्ताको हकमा मापदण्ड निर्धारण गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button