कर्णालीमा भेटिएका ४ शवको अछाम अस्पतालमा पोष्टमार्टम

टेकराज भण्डारी फागुन २६, अछाम

कर्णाली नदीमा बेपत्ता भई शव प्राप्त भएका ४ जनाको जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरी शव आफन्तलाई बुझाईएको छ । मंगलबार बेलुकी अछाम अस्पताल पु¥याईएका शवको आज पोष्टमार्टम गरिएको हो ।

दैलेख आठबीस नगरपालिका वडा नम्बर ३ निमायलकी ३८ वर्षीया सुकी बडुवाल, उहाँकी छोरी १४ बर्षिया कल्पना बडुवाल, १२ बर्षिया सरिता बडुवाल, ८ बर्षिय छोरा ललित बडुवालको जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

आमा सुकि सहित एकै घरका पाँच जनाले गत आईतबार बेलुका करिब ६ बजेतिर दैलेखको बान्नेभीर भन्ने ठाउँबाट कर्णाली नदीमा हाम फालेका थिए । जसमध्ये ५ वर्षीया छोरी रजनी बडुवालको खोजी कार्य भैरहेको छ । बेपत्ता आमा सुकी र उहाँका छोरा ८ वर्षीय ललितको शव मंगलबार दिउसो १२ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ बेलखेतमा भेटिएको थियो भने कल्पना र सरिताको शव सोमबार दिउँसो सोही ठाउँ नजिकै भेटिएपछि पोष्टमार्टमका लागि अछाम अस्पताल ल्याईएको थियो ।

आईतबार घरबाट करिब ४ बजे निस्केकी सुकी सहित उहाँका छोराछोरी करिब २ घण्टाको पैदल दुरीपछि कर्णाली किनारमा पुगेका थिए । उनीहरुले एक आपसमा लुगाले बाँधेर हाम फालेको बुझिएको छ । ठुला दुईछोरीलाई संगै बाँधेको अवस्थामा भेटिएको र सानी छोरी काखमा च्यापेर र छोरालाई सुकिले पिठ्युँमा बाँधेर हाम फालेको पाईएको उद्धारमा संलग्न मृतक सुकिका भतिजा जनक बहादुर भण्डारीले जानकारी दिनुभयो ।

छोरालाई पिठ्युँमा बाँधेकाले आमासंगै भेटिएका र काखमा लिएकी छोरी फुत्केको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको र प्रारम्भिक अवस्था हेर्दा घरायसी विवादले हाम फालेको हुनसक्ने अनुमान गरिएको छ । छोराको खल्तीमा चाउचाउ समेत भेटिएको छ ।

मृतक सुकीका श्रीमान् मानसिंह बडुवाल केही महिना अघि भारतबाट आएका थिए । उनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिनुभयो ।

छोरालाई नेपालगञ्ज पढाउने योजना सहित उनी करिब एक बर्षपछि भारतबाट आएका समेत आफन्तले जनाएका छन् ।  

नदीमा हाम फालेको टाउँ नजिकै उनीहरुका चप्पल भेटिएका र थप बुझ्दै जाँदा उनीहरु नै भएको पाईएको सबैभन्दा पहिले घटनास्थल पुग्नुभएका मृतकका भतिजा जनक बहादुर भण्डारीको भनाई छ । हाम फालेको करिब १ सय मिटरमा माछा मार्न थापिएको झरेउलोमा सोमबार दुई छोरीलाई भेटाईएको र त्यही ठाउँ नजिकै आमा र छोरालाई भेटाईएको थियो ।

पोष्टमार्टम गरिएका शव मृतक सुकीका भतिजा प्रयाग बडुवाल र कमल थापाको जिम्मा लगाई बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button