दैलेखका ४ जनाको सामूहिक दाहसंस्कार


ज्योति कटुवाल, फागुन २७ दैलेख
कर्णालीमा हामफाल्दा मृत्यु भएका आमासहित ३ छोराछोरीको बुधबार साँझ कर्णाली तिरमा दाहसंस्कार गरिएको छ । मंगलबार चारैजनाको अछाम जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएपछि उनीहरुको दाहसंस्कार गरिएको हो ।

आमा सुकी बडुवालको शव जलाइएको छ भने २ छोरी र १ छोराको शव गाडिएको छ । बालबालिकाको शव नजलाउने परम्पराअनुसार गाडिएको स्थानीय कुलबहादुर सिजापतिले जानकारी दिए ।

दाहसंस्कारको बेला सुकीका श्रीमान् मानसिंहलाई पनि कर्णाली तिरमा ल्याइएको थियो । उनी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा छन् । आठबिस नगरपालिका–३, निमायलकी सुकीले आफ्ना चार छोराछोरीसहित आइतबार कर्णाली नदीमा हामफालेकी थिइन् ।

सोमबार दुई छोरी कल्पना र सरीता तथा मंगलबार सुकी र छोरा ललितको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४, बेलखेतस्थित कर्णाली नदीको तिरमा भेटिएको थियो । कान्छी छोरी रजनी भने बेपत्ता छिन् । दाहसंस्कारस्थलमा ल्याइएका मानसिंहले घटना हुनुमा आफ्नो कुनै दोष नभएको बताएका छन् ।

श्रीमतीसहित सामान्य झगडा हुने गरे पनि सन्तानसहित आत्महत्या हुने किसिमले झगडा नहुने गरेको उनको भनाइ छ । यद्यपि प्रहरीले घरेलु हिंसाको कारण सुकीले छोराछोरीसहित आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी वसन्त पन्तले घटनाबारे जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेको जानकारी दिँदै पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानबाट थप कुरा थाहा हुने बताए ।

बेपत्ता छोरीको खोजीकार्य जारी रहे पनि बुधबार साँझसम्म नभेटिएको उनले बताए । बुधबार साँझ दाहसंस्कारस्थलमा स्थानीयको ठूलो भीड लागेको थियो । छरछिमेक र गाउँलेहरु स्तब्ध छन् । उनीहरु बाहिरका मान्छेसँग बोल्न पनि डराउँछन् ।
कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button