

निराजन भण्डारी, चैत्र १, अछाम
अछामका विभिन्न ठाउँहरुमा सडक सञ्जाल जोडिए संगै बजार क्षेत्र विस्तार भैरहेका छन् । सडक विस्तार भएसंगै गाउँठाउँमा सानाठुला बजार क्षेत्र विस्तार हुन थालेका हुन् । पहिले एक दुई पसल हुने ठाउँमा अहिले बजार क्षेत्र विस्तार हुँदै गएको पाईएको छ ।
बजार क्षेत्र विस्तार भएसंगै त्यसको उचित व्यवस्थापन हुन नसक्दा बजारक्षेत्र दुर्गन्धित बन्दै गएका छन् । बजार क्षेत्र विस्तारसंगै फोहरमैलाको उचित व्यवस्थापन नहुँदा विभिन्न सरुवाजन्य रोगको जोखिम समेत बढेको छ । बजारक्षेत्र विस्तार हुँदै गएको जिल्लाको स्याउँलेखाँद बजार पनि अव्यवस्थित र फोहरमैलाले गाँज्दै गएको छ । कमलबजार नगरपालिका वडा नम्बर ६ मा रहेको स्याउँलेखाँद बजारको अवस्था पनि सरसफाईमा निकै कमजोर बन्दै गएको छ । बजार क्षेत्रमा फोहरमैला जथाभावी छरिएको पाईएको छ । मदिराका बोतल समेत बजार क्षेत्र नजिकैका खोला खोल्सामा फाल्ने गरेको र जसका कारण वस्तुभाउ र मान्छेको खुट्टा काटिने जोखिमका साथै वातावरणमा समेत प्रदुषण बढेको छ । कुखुराको भुत्ला जताजतै फालेको देख्न सकिन्छ ।
बजार क्षेत्र दुर्गन्धित भइरहेको अबस्थामा पनि बजार ब्याबस्थापन समिति तथा व्यवापारीले बजारको सरसफाईमा चासो नदेखाएको स्थानीय बासीले गुनासो गरेको छन् । फोहरमैला तथा दुर्गन्धले विभिन्न रोगको जोखिम रहेको समेच स्थानीय बासीहरुको भनाइ रहेको छ । बजारको फोहोर मैला व्यवस्थापन गर्न स्थानीयहरुले जोड दिएका छन् ।

यता वडा अध्यक्ष राम बहादुर शाहीले बजार व्यवस्थापन गर्ने जिम्मेवारी बजार व्यवस्थापन समितिको भएको बताउनु भएको छ । साथै उहाँले आफ्नो क्षेत्रको सरसफाई गर्न स्थानीय नागरिक नै अग्रसर हुनुपर्ने जोड दिदै आफु पन्छिनु भयो । बजार व्यवस्थापन समितिका अध्यक्ष भानु ढकाल बजारमा व्यवसाय गर्दै आउनु भएका व्यापारीले नै सरसफाई गर्न चासो नदेखाउने गरेको बताउनु हुन्छ । व्यवापरीले फोहरमैला जथाभावि फाल्ने गरेको तर सरसफाईमा ध्यान दिने नगरेको उहाँको गुनासो छ । साथै उहाँले बजार ब्याबस्थापन समितिको छिट्टै बैठक बोलाएर बजारको सरसफाई गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।