अछामका तीन पालिकामा ५३ किलोमिटर प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार अन्तर्गत कालोपत्रे हुने, सडक पक्की हुने भएपछि स्थानीय खुसी

टेकराज भण्डारी चैत्र २, अछाम

अछामका तीन स्थानीय तहमा प्रादेशिक एबम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत सडक निर्माण हुने भएका छन् । स्थानीय, प्रदेश र संघलाई पक्की सडक सञ्जालमा जोड्ने गरी तीनै तहका सरकारले शुरु गरेको कार्यक्रम अनुसार अछामका चौरपाटी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा सडक निर्माण कार्य शुरु हुने भएको हो । त्यसका लागि उक्त तीन पालिकासंग प्रदेश सरकारले सम्झौता गरेको छ ।

तुर्माखाँद–बाँसकाडा–पुनेपाटा–बतासे सम्म तुर्माखाँद गाउँपालिकासंग ३१ किलोमिटर, चौरपाटी – चौखुट्टे १४ किलोमिटर सडकका लागि चौरपाटी गाउँपालिकासंग र कमलबजार गैरीटाँड सम्म ८ किलोमिटर सडकका लागि कमलबजार नगरपालिकासंग समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । अछाममा तीन पालिकामा गरी ५३ किलोमिटर सडक कालोपत्रे गर्ने गरी निर्माण हुन लागेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा धनगढीमा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकाश बिष्ट, चौरपाटिी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउँद र तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले पालिकाको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री प्रकाशबहादुर शाहको उपस्थितिमा हस्ताक्षर गरिएको हो । तीन वटै सरकारको संयुक्त लगानीमा सडक निर्माण गरिने छ ।

पालिका गौरवको आयोजनाको रुपमा रहेको यी सडक प्रादेशिक एबम स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम अन्तर्गत आयोजना कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश सरकार र पालिकावीच समझदारी पत्रमा हस्ताक्षर गरिएको कमलबजार नगरपालिका प्रमुख ओम प्रकाश बिष्टले बताउनु भयो ।

प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको चिसापानी –जंगलघाट –मंगलसैन सडक खण्ड अन्तर्गत तुर्माखाँद र कमलबजार नगरपालिकामा सडक खण्डअन्तर्गत पर्नेे तुर्माखाँद देखि गैरीटाँड सम्मको सडक कालोपत्रे भएपछि उक्त दुई पालिका पक्की सडक सञ्जालमा जोडिने छन् ।

जंगलघाटमा पक्की पुलका लागि टेण्डर परिसकेकाले चिसापानी जंगलघाट मंगलसेन सडकले मुर्त रुप लिन लागेको उक्त सडक निर्माणका लागि निरन्तर लागिरहनु भएका अछाम क्षेत्र नम्बर २ का संघीय सांसद यज्ञ बहादुर बोगटीको भनाई छ ।

यो खण्डको सडक निर्माण पश्चात पुर्वी अछामका जनतालाई कैलाली सम्म सहज यातायातको पहुच हुने र यहाँको व्यापार, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने तुर्माखाँद गाउँपालिकाका अध्यक्ष शर्माको भनाई छ ।

समझदारी पत्रमा हस्ताक्षर भएको र अब सडक निर्माण भएपछि पालिकाबासीलाई थप राहत हुने चौरपपाटी गाउँपालिकाका अध्यक्ष साउँदको भनाई छ ।

पक्की सडक नपुगेका ११० स्थानीय तह, प्रदेश जनप्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच आईतबार देशका सातै प्रदेशमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । दुई सय ८३ स्थानीय तहका केन्द्रलाई प्रदेश तथा राष्ट्रिय सडक सञ्जालमा जोड्नुपर्ने, ६१ स्थानीय तहसँग केन्द्रसम्म जोड्दै नजोडिएको र १६३ स्थानीय तहमा नयाँ कच्ची सडक निर्माण भएको र सबै सडकलाई पक्की सडकमा रुपान्तरण गरिने सरकारको लक्ष्य रहेको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा एक हजार एक सय किलोमिटर सडक निर्माण गरिन लागेको छ । यसबाट मुलुकको सामाजिक तथा आर्थिक विकासमा ठूलो सहयोग पुग्नाका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन सोच पूरा गर्न सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button