टेकराज भण्डारी चैत्र ३, अछाम
गत पौष २१ गतेबाट अभियानका रुपमा सञ्चालन भएको राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता कार्य अछाममा उत्साहजनक रुपमा भैरहेको छ । जिल्लामा रहेका प्रायःजसो सबैले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराईरहेका छन् । सो कार्यमा हालसम्म करिब ७६ हजार बढी नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् । हालसम्म अछामका विभिन्न १० स्थानीय तहका ७६ हजार ८ सय ८ जनाको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । जिल्लाका आठ पालिकामा रहेका सम्पूर्ण नागरिकले विवरण दर्ता गराए संगै ती पालिकामा दर्ता कार्य सम्पन्न भैसकेको कार्यालयले जनाएकोे छ ।
जिल्लाका पञ्चदेवल विनायक नगरपालिकामा ९ हजार १ सय २१ जना, रामारोशन गाउँपालिकामा ७ हजार ४ सय ९८ जना, मंगलसेन नगरपालिकामा ८ हजार ६ सय ३० जना, कमलबजार नगरपालिकामा ६ हजार ४ सय १४ जना तथा बान्नीगढी जयगढ गाउँपालिकामा ५ हजार २ सय ४७ जनाको विवरण संकलन गर्दै यी पालिकामा विवरण दर्ता कार्य सम्पन्न भएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले जानकारी दिनुभयो । यस्तै मेल्लेख गाउँपालिकामा ८ हजार १ सय ६० जना, चौरपाटी गाउँपालिकामा ७ हजार ६ सय ६९ जना, साँफेबगर नगरपालिकामा १० हजार ६७ जनाको विवरण दर्ता गरिएको र ती पालिकामा रहेका सम्पूर्ण नागरिकले विवरण दर्ता गराईसकेका जिल्ला प्रशाशन कार्यालयका सूचना अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाले जानकारी दिनुभयो ।
अभियान जारी रहेका दुई पालिकामा पनि दर्ता कार्य तीब्र रुपमा अघि बढिरहेको छ । जसअनुसार ढकारी गाउँपालिकामा ७ हजार ८९ जना, र तुर्माखाँद गाउँपालिकाका ६ हजार ९ सय १३ जनाको विवरण राष्ट्रिय परिचयपत्रका लागि दर्ता गरिएको छ । यी दुई पालिकामा पनि केही दिनमै दर्ता कार्य सक्ने लक्ष्य लिईएको कार्यालयले जनाएको छ । ३ महिनामा अछाम जिल्लाका सम्पूर्ण नागरिकको विवरण दर्ता गरिसक्ने गरि अभियान सञ्चालन गरिएको हो । हरेक पालिकाका वडा तहमा गएर राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन तथा सामाजिक सुरक्षा कार्यक्रममा विवरण अद्यावधिक कार्य शिविर सञ्चालन गरी अभियानको रुपमा भैरहेको छ ।
अछाम जिल्लामा २०७६ साल असार २६ गतेदेखि जिल्ला प्रशाशन कार्यालयल मार्फत राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्यको शुभारम्भ गरिएको थियो । जिल्ला प्रशाशन कार्यालयबाट हालसम्म करिब ७ हजार २ सय बढीले विवरण दर्ता गराएका छन् । स्थानीय तहमा सञ्चालित शिविर र जिल्ला प्रशाशन कार्यालयमा गरी हालसम्म करिब ८४ हजार नागरिकको विवरण संकलन भएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । जिल्ला प्रशाशन कार्यालयमा विवरण दर्ता गराएकामध्ये हालसम्म १ हजार १ सय ३७ जनाको राष्ट्रिय परिचयपत्र तयार भैसकेको छ भने १ सय ७० जनाले परिचयपत्र लिईसकेका छन् ।
नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको रुपमा नेपाल सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ । हाल यो कार्यलाई नेपाल सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ ।
अछाम जिल्लाको हकमा रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेकाको संख्या समेत बढी रहेको पाईएको छ । करिब ३५ देखि ४० प्रतिशत नागरिक बाहिर रहेको पाईएको हो । बढीमा ६० प्रतिशत नागरिकको विवरण दर्ता हुन सक्ने देखिएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।