
आनन्द साँउद ,अछाम : अछाममा दुई छुट्टाछुट्टै घटनामा दुई विद्यार्थी बालिकाका ज्यान गएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तिमा करेन्ट लागेर र बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नामा भीरबाट खसेर बालिकाको ज्यान गएको हो ।
बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना निवासी ७ बर्षिय बालिका आयुषा ठकुल्लाको विद्यालय जाने क्रममा भिर बाट लडेर ज्यान गएको हो ।
स्थानीय जनक ठकुल्लाको छोरी आयुषा आज को बिहान घरबाट विद्यालय जाँदै गर्दा भीरबाटो भन्ने ठाउँ बाट करिब १ सय ५० मिटर तल खसेर ज्यान गएको हो । गम्भीर घाईते बालिका लाई उपचारका लागि अस्पताल लिने तयारी गर्दै गर्दा मृत्यु भएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिनुभयो ।
सडकको छेउ बाट हिड्दै गर्दा डोजरले फालेको माटोबाट खुट्टा चिप्लिएर भिर बाट लडेको बताईएको छ । मृतक बालिका ऐश्वर्य माध्यामिक विद्यालय दर्नामा कक्षा १ मा अध्ययनरत थिईन् ।
यस्तै सोमबार राती मात्र मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तीमा करेन्ट लागेर १५ वर्षिय बालिकाको मृत्युु भएको छ। सोमबार राति ९ बजेतिर मोवाईल चार्ज गर्ने क्रममा स्थानीय बमराज नाथकी १५ वर्षिया छोरी सपना नाथको मृत्युु भएको स्थानीय रामराज नाथले जानकारी दिनुभएको छ ।
करेन्ट लागेर गम्भीर घाईते सपनालाई राति नै उपचारको लागि जिल्ला अस्पताल ल्याईएकोमा अस्पताल पु¥याउने बित्तिकै डाक्टरले मृत घोषणा गरेका थिए । मृतक सपना कुन्ति माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिईन् ।
भीरबाट लडेर घाईते महिलाको उपचारको क्रममा मृत्यु
अछाममा भीरबाट लडेर घाईते महिलाको उपचारको क्रममा ज्यान गएको छ ।
जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोट निवासी भानादेवी ठकुल्लाको उपचारको क्रममा काठमाण्डौँमा ज्यान गएको मृतकका श्रीमान वीर बहादुर ठकुल्लाले जानकारी दिनुभयो ।
यही चैत्र ७ गते घर नजिकैको गणेलदेव जंगलबाट स्याउँला ल्याउने क्रममा भीरबाट लडेर घाईते भएकी थिईन् । उहाँ स्याउँलाको ढोको उचाल्ने क्रममा चिप्लिएर ढोको सहित करिब एक सय मिटर तल खसेकी थिईन् ।
४४ बर्षिया घाईते भानादेवीको वयालपाटा अस्पताल, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुँदै काठमाण्डौँ वीर अस्पतालमा उपचार गरिएको थियो । उहाँको हिजो राती ज्यान गएको उहाँका देवर लाल बहादुर ठकुल्लाले बताउनु भयो ।
भीरबाट लडेर उहाँको टाउको र मेरुदण्डमा गम्भीर चोट लागेको थियो । मृतकको शव आज राती अछाम पुग्ने र भोली बुढीगंगामा दाहसंस्कार गरिने आफन्त हर्क ठकुल्लाले जानकारी दिनुभयो । मृतकका श्रीमान १ छोरी र २ छोरा छन् ।