शंकर थापा, चैत्र, २२ अछाम :
अछामको रामारोशन गाउँपालिकाले पम्पसेटबाट पानी तान्ने प्रविधिका मेशिनहरु वितरण गरेको छ ।
गत भदौ २ गते राति आएको अविरल बर्षाका कारण कैलाशखोलमा आएको बाढीले तहसनहस भएका सिँचाई कुलो बनाउन नसक्ने अवस्था भएका किसानका खेतमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले पानि तान्ने मेशिनहरु वितरण गरीएको हो ।
गाउँपालिकाको २० लाख लगानीमा ७ ओटै वडाका किसानहरुलाई सिँचाई गर्न सहज होस भन्ने उदेश्यका साथ मेशिन उपलब्ध गराईएको गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँदले जानकारी दिनुभयो ।
बाढीले तहसनहस भएका सिँचाई कुलोहरु किसानहरुले तत्काल बनाउन नसक्ने भएकाले कैलाशखोला आसपासका खेतहरुमा बीउ राख्ने समय भैसकेकोले किसानको समस्यालाई मध्येनजर गरि गाउपालिकाले मेशिनहरु उपलब्ध गराएको वडा नम्बर ३ शान्तडाका वडा अध्यक्ष तारा बहादुर साउदले बताउनुभयो ।
शान्तडाका वडा अध्यक्ष साउद सहित सबै वडाका वडा अध्यक्षहरुको सहभागीतामा सम्बन्धित स्थानका किसानहरुलाई मुजाबगरमा मेसिनहरु हस्तान्तरण गरी वडा नम्बर ५ रामारोशनको रसुबे र शान्तडामा मेशिनको सफल परिक्षण गरिएको र किसानहरुका खेतमा पानिको समस्या समाधान भएको वडा अध्यक्ष साउदले जानकारी दिनुभयो ।
पालिकाले आफुहरुका समस्याहरु लाई मध्यनजर गर्दै पानि तान्ते मेशिनहरु उपलब्ध गराएपछि समयमै बिउँ व्याड राखेर धान लगाउन सहज भएपछि किसानहरु हर्षित भएका छन् ।
पछिल्लो समय रामारोशन गाउँपालिकाले बाढीले पुगाएको क्षतिको समस्या समाधानका लागि अन्य विभिन्न कार्यहरु गरीरहेको छ ।
तहसनहस भएको सडकको पालिका अध्यक्ष साउद सहितको सक्रियतामा सञ्चालनमा आएर यातायातका साधनहरु सहज रुपमा सञ्चालन भईरहेका छन् भने किसानहरु लाई राहत उपलब्ध गराएको छ ।
पालिकाले बाढीबाट तहस नहस भएका कैलाशखोला आसपासका क्षेत्रमा पुगाएको क्षती लाई पुरानै अवस्थामा फर्काउनका लागी निरन्तर पहल गरीरहेको छ ।