
अछाम जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुँदै
टेकराज भण्डारी अछाम : जिल्लालाई यही चैत्र समान्त भित्र पूर्ण खोप सुनिश्चितता घोषणा गरिने भएको छ । २०७१ सालमा पूर्ण खोप जिल्ला घोषणा भएको अछाममा त्यसपछि पूर्ण खोप सुनिश्चितताको अभियान जारी रहेको छ ।
खोप कार्य निरन्तर चलिरहने र खोप उमेर समुहका सबै बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार अछाम जिल्लाका सबै स्थानिय तहलाई पुर्णखोप सुनिश्चितता घोषणा÷ प्रमाणीकरण गर्ने कार्य द्रुत गतिमा अगाडि बढिरहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताउनु भयो ।
पूर्ण खोप सुनिश्चितता तथा प्रमाणीकरण कार्य जिल्लाका हरेक वडा तहबाटै गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका सबै ९१ वडाबाट १६ देखि २३ महिनाका सबै बालबालिकाहरूको नामावली संकलन गरि १५ महिनामा पाउनु पर्ने दादुरा रूवेला दोस्रो मात्रा सहित सबै खोप पाए नपाएको एकिन गर्ने र छुट भएका बच्चालाई खोप लगाउने कार्य लगभग सकिएको स्वास्थ्य प्रमुख ढुंगानाले जानकारी दिनुभयो ।
अहिले सबै पालिकाका वडाबाट उक्त बिवरण संकलन गरि जिल्ला पुर्ण खोप समन्वय समितिमा पठाई जिल्ला पुर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय लगायतबाट थप अनुगमन गर्ने कार्य समेत जिल्लाका केही स्थानीय तहमा सम्पन्न भैसकेको छ ।
अब केही दिनमै जिल्लाका दशवटै स्थानीय तहका बाँकी रहेका वडाबाट खोप पाएका बालबालिकाको विवरण संकलन गरि जिल्ला पुर्ण खोप समन्वय समितिमा पठाई जिल्ला पुर्णखोप समन्वय समिति र स्वास्थ्य कार्यालय लगायतबाट थप अनुगमन गर्ने सकेर जिल्लालाई पुर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्य गरिने भएको उहाँको भनाइ छ ।
अब जिल्लाका मंगलसेन, मेल्लेख र बान्नीगढी गाउँपालिकाका केही वडामा जिल्लाबाट अनुगमन गर्न बाँकी रहेको र अन्य सातवटा स्थानीय तहमा अनुगमन कार्य सम्पन्न भैसकेको स्वास्थ्य प्रमुख ढुंगानाले बताउनु भयो ।
सोही कार्य अन्तर्गत शुक्रबार अछामको कमलबजार नगरपालिकाले सबै कार्य पूरा गरि पुर्णखोप सुनिश्चितता नगरपालिका घोषणा भएको छ । नगरपालिकाका १० वटै वडाबाट सबै बालबालिकाले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि अनुगमनको कार्य समेत सम्पन्न भए पछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
अछाम जिल्ला पूर्ण खोप घोषणा भैसकेको र हरेक बर्ष पूर्ण रुपमा खोप पाए नपाएको अनुगमन गरि एकिन विवरण संकलन गरि सुनिश्चितता घोषणा गर्ने कार्य भैरहेको छ ।
जिल्लामा खोप सेवाको प्रभावकारी उपयोग भई सबै बालबालिकाले खोप पाउन थालेपछि पछिल्ला बर्षमा बाल तथा मातृ मृत्युमा निकै कमी आएको सरोकारवालाहरुले बताउने गरेका छन् ।