
रामारोशन गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
चैत्र २९, अछाम :अछाम जिल्लालाई यही चैत्र महिनाभित्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा गरिन थालेका छन् ।
सोही कार्य अन्तर्गत अछामको रामारोशन गाउँपालिकालाई पनि पुर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।
पुर्णखोप सुनिश्चितताका लागि आवश्यक सबै कार्य पूरा गरेपछी पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउद भाष्करको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य शेर बहादुर कुवर रहनुभएको थियो कार्यक्रममा सबै वडाबाट सबै बालबालिकाले खोप पाएको विवरण प्रस्तुत गरिएको थियो ।
खोप उमेर समुहका सबैले खोप पाएको प्रमाणीकरण भई आवश्यक अनुगमन समेत भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ देबकोटाले जनकारी दिनुभएको छ ।
अछाम जिल्ला पूर्ण खोप घोषणा भैसकेको र हरेक बर्ष पूर्ण रुपमा खोप पाए नपाएको अनुगमन गरि एकिन विवरण संकलन गरेपछि सुनिश्चितता घोषणा गर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा खोप सेवाको प्रभावकारी उपयोग भई सबै बालबालिकाले खोप पाउन थालेपछि पछिल्ला बर्षमा बाल तथा मातृ मृत्युमा निकै कमी आएको सरोकारवालाहरुले बताउने गरेका छन् ।
घोषणा कार्यक्रममा सबै वडाका वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारि लगायतको सहभागीता रहेको थियो ।