
अछामका एक जनाको भारतमा कोरोनाबाट मृत्यु
टेकराज भण्डारी चैत्र ३१, अछाम
अछाम जिल्लाका एक जना पुरुषको कोरोना भाईरसका कारण भारतमा ज्यान गएको छ । पछिल्लो समय विश्वमै सबैभन्दा बढी कोरोना भाईरसको संक्रमणदर रहेको भारतमा रोजगारीको शिलशिलामा रहनु भएका जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमाली स्थायी ठेगाना भएका ४३ बर्षका रण बहादुर विष्टको कोरोना भाईरसका कारण ज्यान गएको हो ।
धमाली घर भई टिकापुर बसोबास गर्नुहुने विष्ट विगत ५ बर्षदेखि रोजगारीको शिलशिलामा भारतमा जाने आउने गरिरहेकोमा कोरोनाका कारण ज्यान गएको उहाँका भाई शिद्धेश्वरी मावि धमालीका शिक्षक चक्र बहादुर विष्टले जानकारी दिनुभयो ।
भारतको गुजरातमा काम गर्दै आउनु भएका बिष्टको सोमबार राती निधन भएको हो । १०÷१२ दिन पहिले कोरोना संक्रमित भएका विष्ट ५ दिन पहिलेदेखि अस्पतालमा उपचार गराईरहनु भएको थियो । रोजगारीको शिलशिलामा भारत गएका दाजुको भारतमै ज्यान गएपछि परिवारजन ठुलो शोकमा परेको शिक्षक विष्टले बताउनु भयो ।
कोरोनाले बढी असर गरेका कारण स्वास्थ्यमा सुधार नभई ज्यान गएको मृतकका भाई चक्र बहादुुर बिष्टको भनाई छ । मृतकका श्रीमति २ छोरा र एक छोरी छन् ।