अछामका ५ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

अछामका ५ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् । जिल्लालाई नै पुर्णखोप सुनिश्चित घोषणा गर्न लक्ष्य अनुसार ५ ओटा पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएका हुन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, कमलबजार नगरपालिका, रामारोशन गाउँपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन् । पूर्ण खोप सुनिश्चित घोषणा गर्दा पुरा गर्नुपर्ने सबै सूचक पुरा गरेपछि पालिकाहरूलाई घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

आगामी वैशाख ४ गतेसम्म सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्दै जिल्लालाई नै पुर्णखोप सुनिश्चितता घोषणा गर्ने बताइएको छ । अछाममा जम्मा ९१ वटा वडा छन् । २०७१ सालमा पूर्ण खोप जिल्ला घोषणा भएको अछाममा त्यसपछि पूर्ण खोप सुनिश्चितताको अभियान जारी रहेको छ ।

बालबालिकाले अनिवार्य खोप पाउनुपर्ने नेपाल सरकारको लक्ष्य अनुसार अछाम जिल्लाका सबै स्थानीय तहलाई पुर्णखोप सुनिश्चितता घोषणा÷ प्रमाणीकरण गर्ने कार्य जिल्लामा सञ्चालनमा छ । जिल्लाका सबै ९१ वडाबाट १६ देखि २३ महिनाका सबै बालबालिकाहरूको नामावली सङ्कलन गरी १५ महिनामा पाउनु पर्ने दादुरा रूवेला दोस्रो मात्रा सहित सबै खोप पाए नपाएको यकिन गर्ने र छुट भएका बच्चालाई खोप लगाउने कार्य लगभग सकिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।

खोप उमेर समूहका बालबालिकालाई खोप लगाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका र स्वास्थ्यकर्मीले निरन्तर पहल गरिरहेका छन् । अछामका विभिन्न स्थानीय तहमा पोषण कार्यक्रम पनि सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button