
टेकराज भण्डारी बैशाख ८, अछाम अछाममा यही बैशाख ५ गतेबाट पुनः कोरोना भाईरसका संक्रमित देखिन थालेका छन् । १६ सय ७० जना कोरोना संक्रमित भई गत माघ २७ गतेसम्म सबैलाई पूर्ण रुपमा निको भई घर फर्केकोमा पुनः जिल्लामा कोभिड–१९ का संक्रमित देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
पछिल्लो समय जिल्लाका ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जनाकारी दिनुभयो । कोरोना संक्रमण शुन्य भएको करिब ७० दिनपछि पुनः कोरोना भाईरसका संक्रमित देखिन थालेको र हाल ५ जना सक्रिय संक्रमित रहेका सूचना अधिकारी जोशीको भनाई छ । एक जना मेल्लेखका ६५ बर्षका पुरुष तथा एक जना स्वास्थ्यकर्मी सहित २ जना बयालपाटा अस्पतालमा कोरोनाका संक्रमित थपिएपछि पछिल्लो पटक संक्रमित हुनेको संख्या ५ जना पुगेको छ । यसअघि मंगलसेनका एक जना र साँफेबगरका एक जना कोरोना संक्रमित भई जिल्ला अस्पतालको आईसोलेशन वार्डमा राखि उपचार भैरहेको छ । मेल्लेका पुरुषको पनि जिल्ला अस्पतालमा उपचार भैरहेको सूचना अधिकारी जोशीको भनाई छ । यो संगै अछाममा हालसम्म कोरोना संक्रमितको संख्या १६ सय ७५ जना पुगेको छ ।
पछिल्लोपटक थपिएका कोरोना संक्रमित मध्ये मंगलसेन, साँफेबगर र मेल्लेखका पुरुष भारतबाट आएका संक्रमित हुन् । उनीहरुमा कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएपछि एन्टिजेन परिक्षण गर्दा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो ।
भारतबाट अछाम फर्किने क्रम पनि बढीरहेको छ । विश्वमै कोरोनाको सबैभन्दा बढी संक्रमण फैलिरहेको भारतमा रोजगारीको शिलशिलामा गएकाहरु लक डाउनका कारण रोजगारी गुमाएर फर्किने क्रम बढेको हो । यसकारण अछाम कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाईरसको रोकथामाका लागि विभिन्न निर्णय गर्दै कार्यान्वयन गर्न आग्रह समेत गरेको छ । बैठकले सम्पूर्णमा अनिवार्य मास्क प्रयोग गर्न, पूर्व निर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरी सञ्चालन गर्न, भीडभाड हुने कुनै पनि कार्य नगर्न, धार्मिक कार्यमा भीडभाड नगर्न, २५ जना भन्दा बढी एक ठाउँमा जम्मा नहुन, भौतिक दूरी कायम गर्न, सार्वजनिक यातायातमा सिटभन्दा बढी यात्रु नराख्न, मास्क अनिवार्य प्रयोग गर्न लगाउनु पर्ने निर्णय गरेको छ । यसैगरी स्थानयि तहले क्वारेन्टाईन तथा आईसोलेशन तयारी अवस्थामा राख्न, भीड हुने कार्यालयमा आलोपालो सेवा प्रवाह गर्न, सम्भव भएसम्म विद्युतीय प्रणालीबाट सेवा प्रवाह गर्न तथा सम्बन्धित पालिकाले व्यवस्थापन गर्ने गरी चौरपाटी गाउँपालिकाको चौखुट्टे र पञ्चदेपल विनायक नगरपालिकाको बेलखेतमा हेल्थ डेस्क सञ्चालन गर्न बैठकले निर्णय गरेको छ । यदि कोही कसैले नियमको उल्लंघन गरी कोरोना संक्रमणको जोखिम बढाएको पाईएमा संक्रामक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कारबाही हुने अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले जानकारी दिनुभयो ।