टेकराज भण्डारी अछाम । अछाममा १ हजार ४ सय जनालाई कोरोना भाईरस विरुद्धको दोस्रो डोज खोप लगाइने भएको छ । कोरोना भाईरस विरुद्ध पहिलो चरणमा खोप लगाएका १ हजार ४ सय जनालाई दोस्रो डोज खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।
दोस्रो डोज खोप मङ्गलवारबाट सुरु भएकोमा हालसम्म करिब ३ सय जनाले खोप लगाइसकेका कार्यालयले जनाएको छ ।
दोस्रो डोज खोपको पहिले दिन मध्ये १ सय २० जनाले खोप लगाएको र खोप लगाउने कार्य वैशाख ११ गतेसम्म जारी रहने छ ।
जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा रहेको खोप केन्द्र मध्ये पहिलो दिन बयालपटा अस्पतालबाट ३७ जना महिला तथा ४३ जना पुरुष गरी ८० जना तथा जिल्ला अस्पताल मङ्गलसेनबाट ४० जनाले दोस्रो डोज खोप लगाएका हुन् ।
स्थानीय तहका स्वास्थ्य शाखामार्फत जिल्लाका दश वटै स्थानीय तहमा पहिलो चरणमा खोप लगाएकाहरूका लागि दोस्रो डोज खोप लगाउने योजना रहेको छ । पहिलो दिन बयालपाटा अस्पताल र जिल्ला अस्पतालमा मात्र खोप लगाइएको छ ।
आजदेखि स्थानीय तहका स्वास्थ्य शाखाहरूमार्फत नै खोप कार्यक्रम सञ्चालन भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले बताउनुभयो ।
गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएका स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, जनप्रतिनिधि, एम्बुलेन्स तथा शवबाहन चालक, सरसफाइ कर्मचारी, सञ्चारकर्मी लगायतले दोस्रो डोज खोप लगाउने छन् ।