

नेपालीहरू झन बढी प्रभावित बन्दै
टेकराज भण्डारी, बैशाख १४, अछाम
अछामको मंगलसेन नगरपालिका वडा नम्बर २ मिस्तुरुका झंकरी विकको कोरोना भाईरसको संक्रमणबाट ज्यान गएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा एक हप्तादेखि उपचाररत झंकरीको ज्यान गएको हो । अछाम घर भइ हाल गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयामा बसोबास गर्नुहुने झंकरी २० दिन अघि भारतको पुनाबाट घर फर्केका थिए ।
करिब ८ बर्षदेखि भारतको पुनामा रोजगारीको शिलशिलामा रहनु भएका उहाँ पछिल्लो समय भारतमा तीब्र रुपमा फैलिरहेको कोरोना महामारीबाट बच्न नेपाल फर्किनु भएको थियो । कोरोनाबाट बच्न नेपाल फर्केका ३८ बर्षका झंकरीको अन्नतः कोरोना भाईरसकै कारण ज्यान गएको उहाँका आफन्त दिपक बिकले जानकारी दिनुभयो ।
गत चैत्र २२ गते आफ्नो घर पुगेका उहाँमा कोरोनाको लक्षण देखिएपछि कोरोना परिक्षण गरिएको थियो । ८ दिन अघि कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालमा उहाँको उपचार भैरहेको थियो । ढिलो गरी अस्पताल गएको र फोक्सोमा बढी असर परिसकेको पाईएको उहाँका आफन्त दिपकको भनाई छ । मृतकका श्रीमति र ३ छोरा छन् ।

पछिल्लो समय भारतमा रहेका अछाम लगायतका नेपालीहरु कोरोनाबाट बढी प्रभावित भैरहेका र ज्यान जाने क्रम समेत बढीरहेको भारतको मुम्बईमा रहेका अछाम कमलबजार ६ का दिपक ढकालको भनाई छ ।

सोमबार मात्रै अछामको मंगलसेन नगरपालिका वडा नम्बर ३ बिउरापानी घर भइ हाल भारतको पुनामा रहेका ४५ बर्षका काले टमट्टाको पनि ज्यान गएको छ । कोराना भाईरसबाट संक्रमित भई उपचार गराईरहेका उहाँको ज्यान गएको हो ।

यस्तै यही बैशाख १२ गते जिल्लाको साँफेबगर २ जाल्पादेविका ६१ बर्षका मथुरादेवि विक तथा १० गते साँफेबगर ४ खालसैनका ६८ बर्षका रुद्रसिंह टमट्टाको भारतको मुम्बईमा कोरोनाका कारण ज्यान गएका उहाँका आफन्त हिमबहादुर बिश्वकर्माले जानकारी दिनुभयो ।
याे पनि
यस्तै गत चैत्र ३० गते पनि अछामका एक जना पुरुषको कोरोना भाईरसका कारण भारतमा ज्यान गएको थियो ।
पछिल्लो समय विश्वमै सबैभन्दा बढी कोरोना भाईरसको संक्रमणदर रहेको भारतमा रोजगारीको शिलशिलामा रहनु भएका जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमाली स्थायी ठेगाना भएका ४३ बर्षका रण बहादुर विष्टको कोरोना भाईरसका कारण ज्यान गएको हो ।
धमाली घर भई टिकापुर बसोबास गर्नुहुने विष्ट विगत ५ बर्षदेखि रोजगारीको शिलशिलामा भारतमा जाने आउने गरिरहेकोमा कोरोनाका कारण ज्यान गएको उहाँका भाई शिद्धेश्वरी मावि धमालीका शिक्षक चक्र बहादुर विष्टले जानकारी दिनुभयो ।
भारतको गुजरातमा काम गर्दै आउनु भएका बिष्टको सोमबार राती निधन भएको हो ।
१०/१२ दिन पहिले कोरोना संक्रमित भएका विष्ट ५ दिन पहिलेदेखि अस्पतालमा उपचार गराईरहनु भएको थियो ।
रोजगारीको शिलशिलामा भारत गएका दाजुको भारतमै ज्यान गएपछि परिवारजन ठुलो शोकमा परेको शिक्षक विष्टले बताउनु भयो ।
कोरोनाले बढी असर गरेका कारण स्वास्थ्यमा सुधार नभई ज्यान गएको मृतकका भाई चक्र बहादुुर बिष्टको भनाई छ । मृतकका श्रीमति २ छोरा र एक छोरी छन् ।