अछामका खोलै खोला पानी घट्ट र घर–घरमा जाँतो

अछाम । देशका धेरै ठाउँमा अहिले पनि घट्टबाट गेडागुडी अर्थात् अन्न पिस्ने चलन रहेको छ ।

सुदूरपश्चिमको अछाम डोटी, बाजुरा, बझाङ लगायतको विभिन्न जिल्लामा पानिघट्ट र जाँतोबाटै कुटानी पिसानी गर्ने चलन छ ।

अछामको रामारोशन गाउँपालिकाका बाटुलासैन, नेटाकोट, भाटाकाटिया, शान्तडा, तोली, पुल्लेतोला, बान्ने लगायतका स्थानीय खोलामा पानी घट्ट छन् । अनि ग्रामीण गाउँका घरघरमै जाँतो अर्थात् जुतारो छन् । गाउँमा आधुनिक विद्युतीय तथा डिजेलबाट चल्ने मिल छैनन् हरेक खोलामा घट्ट र घरमा जाँतो देख्न पाइन्छ ।

विशेष गरी पर्यटकीय क्षेत्र रामारोशनमा पुग्ने सबै पर्यटकले खोलामा देखिने घट्ट र जाँतोबारे जिज्ञासा राख्ने गरेको रामारोशन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केश बहादुर बटालाले बताउनुभयो । पानीबाट चल्ने घट्ट र जाँतोमा पिसेको खानेकुरा मिलमा पिसेको खानेकुरा भन्दा धेरै राम्रो र पोसिलो हुने स्थानीय बताउँछन् ।

रामारोशन गाउँपालिकाका ७ वटा वडामा रहेका खोलामा करिब ३ सय बढी घट्ट छन् । प्रत्येक टोलका अधिकांश घरमा परम्परागत जाँतो संरक्षण गरेर राखिएको छ । स्थानीय होटेलमा पाहुनाका लागि घट्ट र जाँतोबाटै पिसेको अनाजबाट परिकार बनाउने गरिएको छ । घट्ट र जाँतो संरक्षणका लागि स्थानीय सरकारले योजना निर्माण गरेका छन् ।

कुलो बनाउने, पत्थर निकाल्ने, छानो लगाउने र पाइप व्यवस्थापनमा सहयोग गरी घट्ट र जाँतो निर्माणमा सहुलियत दिने योजना रहेको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदले बताउनुभयो ।

बिस्तारै परम्परागत कुटानी पिसानीका साधनहरू लोप भइरहेका बेला सबै सरोकारवालाले योजना तथा नीति नै बनाएर संरक्षण गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button