
काठमाण्डाै – भक्तपुरको सूर्यविनायक नगरपालिका ४ का सुशील खड्काले पुष्प व्यवसाय गर्न थाल्नुभएको २५ वर्ष भयो । झण्डै तीन करोड लगानीमा २० रोपनी जग्गामा उहाँको फूल खेती छ । त्यसमध्ये ५ रोपनीमा सयपत्री र मखमली छ । नेपालमा संगठित रुपमा रहेका झण्डै ७ सय पुष्प व्यवसायीमध्ये खड्का धेरै लगानी गर्नेमध्येका एक हुनुहुन्छ ।
फूल खेतीमा सन्तुष्ट खड्का यसवर्ष निराश हुनुहुन्छ । विगतमा यति धेरै निराश कहिल्यै हुनुपरेको थिएन । भूकम्प गएको वर्ष फूलको कारोबार केही कम भए पनि घाटा भने लागेको थिएन । तर यसपालि झण्डै ९ महिना फूलको कारोबार ठप्पै भयो । ‘लकडाउन र निषेधाज्ञामा कारोबार शून्य नै भयो । लकडाउन खुल्यो, त्यसपछि अहिले २०/२५ प्रतिशत कारोबार सुरु भएको छ’ उहाँले भन्नुभयो, ‘अहिले जेनतेन फर्म व्यवस्थापन र स्टाफ खर्च चल्न पुग्नेगरी बजार सहज हुँदैछ ।’

खड्काको जेएस नर्सरीमा कोरोना सङ्क्रमण सुरु हुनुअघि १२ जना कामदारले काम गर्थे । कारोबार पनि राम्रै भएको थियो । तर नेपालमा कोरोना सङ्क्रमण देखिन थालेपछि सरकारले लकडाउन गर्यो । अरु क्षेत्रमा जस्तै पुष्प व्यवसायमा पनि नराम्ररी असर पर्न थाल्यो । फूलको कारोबार हुन छाडेपछि खड्काले ६ जना कामदार समेत कटौती गर्नुभयो । खड्का जस्तै अरु पुष्प व्यवसायीलाई लकडाउन र कोरोना सङ्क्रमण जोखिमका कारण ठप्प भएका विभिन्न क्रियाकलापले निक्कै असर पारेको छ ।
सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा पनि गरेको थियो । सङ्क्रमण जोखिमकै कारण पर्यटन वर्ष स्थगित भयो । विगतमा भन्दा अझ धेरै फूलको कारोबार हुने आश जागेका पुष्प व्यवसायी पर्यटन वर्ष नै स्थगित भएपछि अझ निराश हुनुपर्यो ।
‘कोरोना भाइरसको सङ्क्रमण जोखिमकै कारण केही समय पर्यटक आउने सम्भावना छैन । त्यसमाथि मलमासले चाडपर्व धकेलिनु र मौसम अनुकूल नहुँदाको पनि असर देखिएको छ’ रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा रहेको लुम्बिनी नर्सरीका रमेश पाण्डे भन्नुहुन्छ, ‘तिहार ढिलो भयो, फूल छिटो फुले । अरु कार्यक्रममा पनि फूल बिक्थ्यो, तर त्यस्ता कार्यक्रमबाट पनि यसपालि बञ्चित हुनुपर्यो । फूल धेरै यत्तिकै नष्ट भयो ।’