दैनिक १३ हजार सिलिण्डर अक्सिजन उत्पादन हुँदै, विदेशबाट सिलिण्डर मगाउने सरकारको तयारी

बैशाख २२, २०७८ बुधबार  – देशभर रहेका अक्सिजन उद्योगबाट दैनिक १३ हजार सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ । काठमाण्डाैमा ८ सहित देशका विभिन्न ठाउँमा रहेका २० वटा उद्योगबाट अहिले अक्सिजन उत्पादनको काम भइरहेको व्यवसायीहरुले बताएका छन् । 

सीमित सिलिण्डरका कारण भनेजति अक्सिजन उत्पादन गर्न नसकिएको नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमल्सिनाले बताउनुभएको छ । उज्यालोसँग कुरा गर्दै उहाँले आवश्यक सिलिण्डरको बन्दोबस्त भएमा आफूहरु जति पनि उत्पादन गर्न तयार रहेको बताउनुभयो । पछिल्ला दिनहरुमा चौबीसै घण्टा अक्सिजन उत्पादनमा आफूहरु खटिएको भन्दै उहाँले सिलिण्डरको मात्रै व्यवस्थापन हुने हो भने केही सहज हुने बताउनुभयो ।

अस्पतामलमै भर्ना गरेर राख्नुपर्ने कोरोना संक्रमितको संख्या हरेक दिन बढेसँगै अक्सिजनको माग पनि बढ्न थालेको छ । हरेक दिन अक्सिजन सिलिण्डरको माग बढिरहेको र यही रफ्तारमा माग बढ्ने हो भने धान्न सक्ने अवस्था नै नरहेकोले तत्काल चाहिने बन्दोबस्त गर्न अक्सिजन उत्पादन गर्ने व्यवसायीहरुको माग छ । 

कोरोना महामारी आउनुभन्दा पहिले नै आफूहरुले आवश्यक प्रबन्ध मिलाउन भने पनि सरकारले वास्ता नगर्दा अहिले यो अवस्था आएको उनीहरुको भनाइ छ ।

महासचिव तिमल्सिना भन्नुहुन्छ, – ‘अक्सिजन उत्पादनका लागि आवश्यक प्रबन्ध मिलाइदिन सरकारसँग धेरैपटक आग्रह गर्‍याैँ, अहिले आएर हतारो भएको छ । त्यतिबेलै हामीले भनेजसरी व्यवस्थापन गरेको भए यो अवस्था आउने नै थिएन ।’

यस्तै बिरामीको घर र अस्पतालमा त्यसै राखिएका अक्सिजन सिलिण्डरको संकलनको काम भइरहेको सरकारले जनाएको छ । नपुगे विदेशबाट समेत ल्याउन सबै बाटो खुला गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिर अधिकारीले बताउनुभएको छ ।

डाक्टर अधिकारी भन्नुहुन्छ, ‘भारतमा कोरोना संक्रमितको संख्या अत्याधिक रहेकोले भारतबाहेक अरु देशबाट खाली सिलिण्डर ल्याउन सबै ढोकाहरु खुला गरेर राखेका छौँ । अवस्था कस्तो आउँछ, विदेशबाट ल्याउनुपर्ने अवस्था भयो भने त्यसै अनुसार काम गछौँ । तर, बिरामीलाई समस्या हुने अवस्थामा हात बाँधेर बस्दैनौँ ।’

सरकारले चीनबाट २० हजार खाली सिलिण्डर ल्याउने निर्णय गरिसकेको छ । अहिले स्वास्थ्य संस्थाहरुमा ६ देखि ७ हजार सिलिण्डरहरु रहेका छन् । यस्तै व्यवसायीसँग पनि सिलिण्डरहरु रहेका छन् । अस्पताल, नीजि क्षेत्र र उद्योगमा रहेका सिलिण्डर प्रयोग गर्दासमेत नपुग्ने अवस्था आयो भने त्यतिखेर नै आवश्यक बन्दोबस्त मिलाइने तर अभाव नै हुन भने नदिने प्रवक्ता अधिकारी बताउनुहुन्छ ।

उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गरेको छ । एउटा प्लान्टबाट हरेक दिन ४७ लिटर क्षमताका ५ सय वटा सिलिण्डरमा ग्यास भर्न सकिने क्षमता रहेको छ । 

कोरोना भाइरसको संक्रमण उच्च गतिमा बढिरहेकोले अक्सिजन उत्पादन गर्ने क्षमतासँगै खाली सिलिण्डरको बन्दोबस्त बेलैमा गरे भारतको जस्तै हविगत नेपालले भोग्नु नपर्ने व्यवसायीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button