
बैशाख २२, अछाम
अछाममा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ का ४५ बर्षका पुरुषको जिल्ला अस्पताल अछाममा उपचारको क्रममा ज्यान गएको हो ।
यही बैशाख १५ गते एन्टिजेन विधिबाट गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएका उहाँको आज साढे ४ बजे ज्यान गएको जिल्ला अस्पताल अछामका कोभिड सम्पर्क व्यक्ति मीन बहादुर कुँवरले जानकारी दिनुभयो ।
मंगलसेन नगरपालिका वडा नम्बर ९ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत रहनु भएका बम बहादुर थापाको निधन भएको अस्पतालले जनाएको छ । थापा नेपाल राष्ट्रिय शिक्षक संगठन मंगलसेन नगर समितिका अध्यक्ष हुनुहुन्थ्यो ।
१५ गते कोरोना संक्रमण पुष्टि भएका उहाँमा कोरोनाका लक्षण देखिएका थिए । स्वास्थ्यमा थप समस्या आई श्वासप्रश्वासमा समेत अप्ठ्यारो भएपछि हिजो मंगलबार जिल्ला अस्पतालमा ल्याईएको थियो ।
जिल्ला अस्पतालको आईसोलेशनमा उपचाररत थापाको असामयिक निधन भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वासमा बढी समस्या भएको, रगतमा अक्सिजनको मात्रा निकै कम भएको र जिल्ला अस्पतालमा आईसीयू तथा भेन्टिलेटरको व्यवस्था नभएकाले ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ ।
आज हेलिकप्टरबाट थप उपचारका लागि बाहिर लिन खोजेपनि मौसमको खराबीका कारण त्यसो गर्न नसकिएको उहाँका आफन्तले बताएका छन् ।
मृतकका श्रीमति २ छोरा र २ छोरी छन् । यो संगै अछाम जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ जना पुगेको छ ।