अछामका महिलाहरु लाई दैनिक गुजाराकै पिरलो

मेनुका ढुंगाना अछाम — कोरोना संक्रमणसँगै निषेधाज्ञा सुरु भएपछि अछाममा दैनिक मजुदरी गरेर जीवन निर्बाह गर्नेहरू मारमा परेका छन् । मारमा पर्नेमा सदरमुकाम मंगलसेनका विभिन्न ठाउँमा मजदुरी गरेर दैनिकी चलाउने धेरै महिला छन् ।

अर्काको काम गरेर दैनिकी चलाउँदै आएकी मंगलसेन नगरपालिका–५ की कोकिला विक अहिले काम गर्न नपाउँदा साँझबिहानको छाक टार्नै समस्यामा परेकी छन् । ५ वर्षअघि उनका श्रीमान्को मृत्यु भएपछि ४ छोराछोरीको पालन पोषणको जिम्मा उनको काँधमा छ । तर, कोरोना भाइरसको दोस्रो लहर चलेपछि उनी काममा जान सकेकी छैनन् । उनलाई रोगभन्दा पनि छोराछोरी भोकै बस्नु परेकोमा चिन्ता छ ।

‘पोहोर साल लकडाउन हुँदा अलिअलि राहत पनि पाइएको थियो । संस्थाका मान्छेहरू के छ, कसो छ भनेर सोध्थे । अहिले त कसैले मतलब गर्दैनन्,’ कोकिलाले भनिन्, ‘लकडाउन हुने अघिल्लो दिन ठेकेदारसंँग काम गरेको पैसा मागेर ३० केजी चामल किनेर ल्याएकी थिएँ । अहिले त्यो पनि सकियो । चुल्हो बल्न छोडेपछि साह्रै तनाव भएको छ ।’

मंगलसेन–५ की झुमा ढुंगानाले काम नपाएको झन्डै एक वर्ष भयो । लकडाउनपश्चात् उनले केही काम पाइनन् । भारतबाट फर्केकाहरू पनि स्थानीयस्तरमै काम खोज्न थालेपछि सबैले काम पाउन सकेनन् । त्यसको मारमा सामान्य महिला परे । पुरुषहरू काममा आउन थालेपछि लकडाउन खुलेको बीचमा उनलाई कसैले पनि काममा लगाएनन् । ‘लकडाउन खुलेको बीचमा पनि कसैले काममा लगाएनन् । अहिले फेरि लकडाउन भयो । छोराछोरीले सताएको सतायै छन्,’ उनले भनिन् ।

महिलाहरूले घर निर्माणको काममा इँटाढुंगा बोक्ने, ससानाका विकासे योजनाका कामहरू, होटलहरूमा सरसफाइ र भाडा माझ्ने काम गरेका थिए । लकडाउन भएपछि फाट्टफुट्ट मात्रै काम पाइने भएपछि रोजगारीकै भरमा चलेको उनीहरूको दैनिकी कष्टकर हुँदै गएको हो । खेतीपातीलगायत अन्य कुनै पेसा व्यवसाय नभएका महिलाहरू दैनिक रोजगारीका भरमा छन् । उनीहरू दिनभरि काम गर्‍यो साँझ पाउने ज्याला रकमले खाद्य सामग्री किनेर घर फर्कने गर्छन् ।

जिल्लाभर कोरोना संक्रमण फैलिए पनि मंगलसेनका मजदुर महिलाले काम गर्न छोडेका छैनन् । मंगलसेन नगरपालिकाअन्तर्गत प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत छनोट भएका महिलाले लकडाउनको समयमा पनि कामलाई निरन्तरता दिएका हुन् । ‘जताततै संक्रमण फैलिएको छ ।

रोग सर्छ कि भन्ने डर हामीलाई पनि छ । तर रोगले मर्नु पहिले भोकले मरिने डर भयो । त्यसैले काम गर्न छोडेनौं,’ मंगलसेनकी मथुरा विकले भनिन्, ‘बस्नलाई सानो छाप्रोबाहेक अरू केही छैन । छोराछोरीलाई भोकै राख्न सकिन्न, बचाउनका लागि भए पनि काम त गर्नैपर्‍यो ।’

सरकारले सुरक्षित घरमै बस भने पनि निम्न परिवारका सदस्यले त्यसको पालना गर्न सकेका छैनन् । ‘घरमा बस, बाहिर नजाऊ भनेर हाम्रा लागि भनिएको हो । तर, कसको अवस्था के हो, कसलाई के सहयोग चाहिएको छ भनेर हामीलाई कसैले सोधेको छैन,’ मंगलसेनमा भेटिएकी सीता विकले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button