
संक्रमितको घरदैलोमा साँफेबगर नगरपालिका प्रमुख कुँवर
कल्पना बोहरा, अछाम : कोरोना संक्रमितको मनोबल उच्च बनाउनका लागि साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरले रचनात्मक अभियानको थालिनी गर्नुभएको छ ।
आफ्नो नगपालिकाका संक्रमितलाई भेट्न नगर प्रमुख कुँवर औषधि र केही खानेकुरा लिएर घरदैलोमा जान थाल्नुभएको छ ।
कतिपय संक्रमित अस्पतालमा शैया अभावमा घरमै आइसोलेशनमा छट्पटाई रहेका छन् । नगर प्रमुख कुँवरले स्वास्थ्यकर्मी सहित घरघरमै गएर संक्रमितहरुको मनोबल उच्च बनाउने काम गर्नुभएको छ । उहाँले कोरोना संक्रमितको उपचार भन्दा पनि धेरै मनोवल कमजोर भएका कारण समस्या देखिएको भन्दै घरघरमै पुगेको बताउनुभयो ।

आज साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथमा कोरोना संक्रमणका होमआईशोलेसमा बसेका परिवारलाई भेटघाट गर्नुभएको हो । उहाँले कोरोना संक्रमणबाट बच्नको लागि वडाबासीलाई सजक रहन पनि आग्रह गर्नुभएको छ ।
घरमै आइसोलेशनमा बसेका संक्रमितलाई थप केही समस्या भएमा खवर गर्न आग्रह गर्नुभएको छ । घरघरमै आएर कोरोना संक्रमितको मनोवल उच्च बनाउने नगर प्रमुख काम प्रशंसनीय भएको वैजनाथका स्थानीय डण्डिराज जोशीको भनाई रहेको छ ।
उहाँले कोरोना संक्रमणका कारण पुरै परिवार थला परेको अवस्थामा नगर प्रमुख घरमै आएर सान्तवना दिएका कारण कोरोना भाईरस जितको महसुस भएको प्रतिक्रिया दिनुभएको छ ।

भेटघाटमा साँफेबगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष अमर शाह, साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्प वुढा, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो ।
यस्तै नगर प्रमुख कुँवर वैजनाथका संक्रमितलाई भेटे लगतै वयलपाटा अस्पतालमा उपचारर्थ कोरोना संक्रमित सँग पनि भेटघाट गर्नुका साथै वयलपटा अस्पताल अस्पतालको अवस्थाका वारेमा वुझ्नुभएको छ ।

वयलपाटा अस्पतलमा उपचारर्थ कोरोना संक्रमितलाई उच्च मनोवल बनाउन सुझाव दिनुभएको छ । उहाँले नगरपालिकाबाट हुने सम्पूर्ण सहयोग हुने प्रतिवद्धता जनाउनुभएको छ ।
वयलपटा अस्पताल तत्काल देखिएको समस्याका वारेमा मेडिकल निर्देशक डा. मन्दिप पाठकसँग जानकारी लिनुभएको छ । मेडिकल निर्देशक डा. पाठकले वयलपाटा अस्पतालको सहयोगमा कोरोना संक्रमितको उपचारमा अहिले सहज भएको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले तत्काल अहिले अस्पतालको सिटामोलको समस्या रहेको वारेमा नगर प्रमुख कुँवरलाई जानकारी गराउनुभएको छ । नगर प्रमुख कुँवरले बुधबार वयलपाटा अस्पतालाई औषधी उपलब्ध गराउने नगर प्रमुख कुँवरले जानकारी दिनुभयो ।
यस्तै उहाँले अन्य आवश्यक थप स्वास्थ्य सामग्रीको लागि पनि पहल गर्नुभएको छ । डा. पाठकले जिल्लाका सवै पालिका, वाजुरा र डोटीका केही पालिकाले अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता जनाएपनि साँफेबगर वाहेक कुनै पालिकाबाट सहयोग नआएको जानकारी दिनुभएको छ ।
प्रतिवद्धता अनुसार सहयोग नहुँदा अस्पताल सञ्चालनमा समस्या रहेको उहाँको भनाई रहेको छ । नगर प्रमुख कुँवरले नगरपालिकासँग यो वर्ष रकम नभएपनि उदारो स्वास्थ्य सामग्री ल्याएर भएपनि उपलब्ध गराउने पनि प्रतिवद्धता जनाउनुभएको छ ।