
अछाममा निरन्तरताको बर्षाले बाढी र डुबान : सचेत रहन प्रशाशनकाे आग्रह
टेकराज भण्डारी अछाम : गत मंगलबार रातिदेखिकाे बर्षाले अछामका विभिन्न नदी तथा खाेलामा बाढी आएकाे छ ।
जिल्लाको कैलाशखाेला, बुढीगंगा नदी, प्रभालीगाड, छिपेखाेला लगायतमा आएकाे बाढीले स्थानीय त्रसित बनेका छन् ।
बाढीले अछामकाे प्रमुख व्यापारीक केन्द्र साँफे हाटबजार डुबानमा समेत परेकाे छ । ढलकाे उचित व्यवस्थापन नहुँदा हाटबजार डुबानमा परेकाे हाे ।
निरन्तरताको बर्षाले कैलाशखोलामा पानीको बहाव निकै बढेको छ । यसरी कैलाश खाेलामा बाढी सहित पानी बढेपछी गतबर्ष भदौ २ को घटनालाई सम्झेर रामारोशन क्षेत्रका नागरिक त्रसित भएका छन् ।

हिजोरातीबाट त्यस क्षेत्रका नागरिक निकै त्रसित बनेका रामाराेशन गाउँपालिकाका याेजना अधिकृत दल बहादुर साउँदले बताउनु भयाे ।
रातभर पानीको बहाव बढेपछी सैनिबजार, खालबजार, मुजाबगर, गजडबजार क्षेत्रमा बस्दै आएका नागरिक त्रसित छन् ।
असार साउनको महिना नलाग्दै जेठ महिनामै एक दुई दिनको बर्षाले कैलाश उर्लेर आएपछी गतबर्षको घटनालाई सम्झदै स्थानीय त्रसित हुदै आएका मुजाबगरमा बसाेबास गर्ने एक जना रुपक परियारले बताउनु भएको छ ।

गत भदौ २ गते राति कैलाशखाेलामा आएकाे बाढीले १७ जना बेपत्ता हुने गरि ठुलाे जनधनकाे क्षति भएको थियाे ।
यता साँफेबगर नगरपालिका वडा नम्बर ३ को हाटबजार क्षेत्रका १२ भन्दा बढी घर डुबानमा परेका छन् । सडक निर्माण गर्दा ढलकाे उचित व्यवस्थापन नगरेका कारण डुबान भएको र डुबानबाट ६० भन्दा बढी परिवार विस्तापित हुनुपर्ने अवस्था छ ।
आफु डुबानमा परी विस्तपित हुनथालेपछी स्थानियले साँफेबगर हाटबजारमा चक्का जाम गरेका छन् ।
स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले पटक पटक ढल निकाश गरिने भन्दै आश्वासन मात्र दिएको र कहिले पनि आफुले गर्ने कर्तव्य निर्वाह नगरेको भन्दै आफुहरु चक्का जाम गर्न बाध्य भएको स्थानीय व्यावसायी भरत खड्काले बताउनु भयाे ।

सडक डिभिजन कार्यालयका ईन्जिनियार दमन बिष्टले करिब ३ महिना अगाडी हाटबजारको ढल निकासको लागी पार्वती निर्माण सेवा अछामको नाममा ठेक्का भएको र काम सम्पन्न नभएको बताउनु भयाे ।
स्थानिय व्यवसायी सुरेश कुँवरले ढल निकासको काम सुरु नै नभएको गुनासो गर्नुभयो ।
बाढिले बस्ने घरहरु संग संगै मेडिकल, होटेल , किराना पसल र गोदामहरु समेत प्रभावित भएका छन् । बुढीगंगा नदीमा पनि पानीकाे बाहव बढेको छ । बुढीगंगा, कैलाशखाेला जस्ता नदीमा बाढी आएपछि स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेकाे छ ।

विगत ३ दिनदेखि जिल्लामा वर्षा भैरहेकाे र नदीकाे उद्गम स्थानमा हालसम्म वर्षा भैरहेकाले सतर्क रहन जिल्ला प्रशाशन कार्यालयले आग्रह गरेकाे छ ।
नदी किनारमा रहेका सबै स्थानीयलाई सतर्क रहन आग्रह गर्दै आफुले सम्बन्धित सराेकारवालासंग समन्वय गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताउनुभयो । समस्या आएमा तत्काल सम्पर्क गर्न प्रशासनकाे आग्रह छ ।