देशभर गर्मी बढ्यो : भोलिदेखि मौसम बद्ली भइ केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गर्मी बढेको छ । हिजो काठमाण्डौको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको थियो भने तराईका जिल्लामा ३७ देखि ३८ डिग्री सेल्सियससम्म पुगेको थियो । आज काठमाण्डौको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

नेपालगञ्ज र दिपायलको तापक्रम ३५ देखि ३७ डिग्री सेल्सियस पुग्ने अनुमान छ । यस्तै, धनगढीको तापक्रम ३४ देखि ३६ डिग्री सेल्सियससम्म,वीरेन्द्रनगरको ३२ देखि ३४, दिपायलको २९ देखि ३१ डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । हिजो, अस्ति र आज गर्मी बढे पनि भोलिदेखि फेरि मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र चक्रवातमा परिणत हुने र यसको असर नेपालमा समेत पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यो प्रणालीका कारण भोलि दिउँसोपछि देशका धेरै ठाउँमा सामान्यदेखि पूर्ण बद्ली भइ वाग्मती प्रदेश र प्रदेश-१ का हिमाली र उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात र वर्षाको सम्भावना छ । यस्तै, हिमाली क्षेत्रमा हावाहुरीसमेत हुन सक्ने सम्भावना रहेकाले भोलिदेखि केही दिनसम्मका लागि पर्वतारोहीलाई मौसम अनुसार सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

यस्तै, पर्सी बुधवार देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । प्रदेश-१, प्रदेश २ तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो । यस्तै बिहीवार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । यस्तै, प्रि-मनसुनको यो सिजनमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिना पानी समेत पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button