
अछाम : अछाम जिल्लामा जारी निषेधाज्ञा थप १० दिनका लागि लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछाममा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ २२ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
छिमेकी देश भारतमा र देशमै पनि संक्रमण तिब्र रुपले बढीरहेका, अछाममा अछामीबासीहरु भारतबाट घर फर्किनेक्रम जारीरहेकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
अछाममा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो ।
पहिलो चरणको निषेधाज्ञा जेठ २ राति १२ बजे सकिएको थियो । तर फेरी दोस्रो पटक १० दिन थप गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिँदै थियो ।
कोभिडका बिरामी जिल्लामा बढेको र मृत्यु दरसमेत उच्च रहेको पाइएपछि निषेधाज्ञा जेठ २२ गतेसम्मका लागि लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्ध मल्लले बताउनुभयो ।
बैठकले औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने निर्णय गरेको छ ।

