
१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् भने चार मन्त्री नियुक्त भएका छन् ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदशे सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
यसलाई लिएर विवाद भइरहेका बेला एमालेका दुई मन्त्रीले राजीनामा दिएका हुन् भने तीन नयाँ मन्त्री थपिएका छन् ।
एक जना भने सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका छन् ।
नेकपा एमालेबाट सरकारमा गएका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका छन् ।
एमालेबाटै दीर्घ सोडारी र पूर्णा जोशी मन्त्री बनेका छन् । सोडारीलाई भौतिक पूर्वाधार र जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
एमालेकै लालबहादुर खड्का आन्तरिक मामिला तथा कानूनमन्त्री नियुक्त भएका छन् । यद्यपि जोशी र खड्काको मन्त्रालय हेरफेर हुनसक्ने स्रोतले बताएको छ ।
यसअघि आन्तरिक मामिलामन्त्री रहेका एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले केही राज्यमन्त्री पनि नियुक्त गर्ने तयारी गरेको बताइएको छ ।