
अछाममा कोरोना संक्रमित शिक्षकको मृत्यु
टेकराज भण्डारी जेठ १५, अछाम
अछाममा कोरोना संक्रमण भएको २० दिनपछि एक जना शिक्षकको ज्यान गएको छ ।
२० दिन अघि कोरोना भाईरसबाट संक्रमित भएका अछामको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका गंगा बोहराको शनिवार बिहान ज्यान गएको हो ।
महेन्द्र माध्यामिक विद्यालयमा कार्यरत ५८ बर्षीय प्रावि स्थायी शिक्षक बोहराको आज विहान एक्कासी श्वास प्रश्वासमा समस्या आएको र उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको सहकर्मी शिक्षक मञ्जु कुँवरले जानकारी दिनुभयो ।
कोरोना संक्रमित भएपछि केही दिन वयालपाटा अस्पतालमा समेत उहाँले उपचार गराउनु भएको थियो । त्यसपछि घरमै आईसोलेशनमा बसेर उहाँले स्वास्थ्यलाभ गर्नुभएको थियो ।
घरमै अक्सिजन समेत लिएर स्वास्थ्यलाभ गर्नुभएको उहाँको स्वास्थ्यमा सामान्य सुधार भएपनि सञ्चो नभएको परिवारजनले बताएका छन् ।
मृतक शिक्षक बोहरा पूर्व कुशल भलिबल खेलाडी समेत हुन् । उहाँको खेल हेर्न जिल्लाका विभिन्न ठाउँका व्यक्तिहरु लालायित हुने गरेका उहाँका सहपाठी चण्डिकाका अगुवा हिरण्ड कुँवरको भनाई छ । मृतक शिक्षकका श्रीमति ६ छोरी र १ छोरा हुनुहुन्छ । उहाँको आजै बुढीगंगा नदीमा दाहसंस्कार गरिएको उहाँका छोरा जीवन बोहराले बताउनु भयो ।