
अछाममा मास्क बैंक स्थापना
टेकराज भण्डारी, जेठ १५, अछाम
अछाम जिल्लामा पहिलो पटक निःशुल्क मास्क वितरण केन्द्र (मास्क बैंक) स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी अछाम शाखाले आज मंगलसेन बजार (जिल्ला समन्वय समितिको नजिक) मास्क बैंक तथा निःशुल्क मास्क वितरण केन्द्र स्थापना गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी अछामले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि जिल्ला सदरमुकाम मंगलसेनमा मास्क बैंक स्थापना गरेको रेडक्रस सोसाईटी अछामका सभापति रत्न प्रसाद ढुंगानाले बताउनु भयो ।

मास्क बैंकबाट निःशुल्क मास्क लिएर प्रयोग गर्न सकिनुका साथै मास्क वा मास्क किन्नका लागि नगद सहयोग गर्न सकिने छ । मास्क बैक तथा निःशुल्क बितरण केन्द्रको आज एक कार्यक्रमका वीच मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा उद्घाटन गर्नुभयो ।

जिल्ला शाखा सभापति ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले महामारीको अवस्थामा मास्क बैंक स्थापना गरी निःशुल्क मास्क वितरण तथा सेनिटाईजर उपयोग गर्न पाईने व्यवस्था गरेकोमा रेडक्रस अछामलाई धन्यवाद दिनुभयो ।
यस कार्यबाट मास्क नभई जोखिममा रहेकालाई मास्क प्रदान गर्नुका साथै सबैलाई अनिवार्य मास्क प्रयोगमा चेतना प्रदान गर्ने नगर प्रमुख बोहराले विश्वास व्यक्त गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी अछाम शाखाले १० हजारको कोष स्थापना गरी मास्क बैंकको स्थापना गरेको हो । मास्क बैंक स्थापनाका लागि जिल्ला समन्वय समितिले निशुल्क कोठा उपलब्ध गराएको छ भने रेडक्रस सोसाईटी मंगलसेन उपशाखाले ३ हजार सहयोग गरेको छ ।
साथै मंगलसैन नगरप्रमुख बोहराले ५ सय थान मास्क, अछाम बहुमुखी क्याम्पस प्रमुख छत्र बहादुर बिस्टले २ सय थान, रेडक्रस सोसाईटीका निनवर्तमान केन्द्रीय सदस्य तथा शिक्षक बृकेश सिंह बोगटी २ सय थान तथा रेडक्रस सोसाईटी अछामका मन्त्री एवं अछाम बहुमुखी क्याम्पसका सहायक प्रमुख ध्रुव कुमार शाहीले २ सय थान मास्क सहयोग गर्नुभएको कार्यक्रम संयोजक अमर नाथ न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ अछामका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढुंगाना, अछाम क्याम्पसका क्याम्पस प्रमुख बिष्ट, नागरिक समाजका अध्यक्ष शङ्कर बहादुर रावल, निवर्तमान केन्द्रीय सदस्य बोगटी, मन्त्री शाही, षोडषा माविका प्रधानाध्यापक देबेन्द्र दुब्बे, मंगलसेन उप शाखा सचिव धन कुमार केसी, कार्यक्रम संयोजक न्यौपाने, लेखापाल रेबन्त बिष्ट लगायतको सहभागिता रहेको थियो ।