
अछाम जेसिजद्वारा बिरामीका कुरुवालाई निःशुुल्क खाना सहयोग
टेकराज भण्डारी, जेठ १५, अछाम
अछाम जेसिजले जिल्ला अस्पताल अछामका बिरामीका कुरुवालाई निःशुल्क खाना सहयोग कार्यक्रम शुरु गरेको छ ।

“मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्ने जेसिजको मूल मन्त्रलाई अंगिकार गर्दै आज १४ ओैं गणतन्त्र दिवसको अवसर पारेर जेसीआई अछाम २०२१ को आयोजनामा तथा निबर्तमान अध्यक्ष जेसी तुलाराम बिसीको अगुवाईमा अछाम जिल्ला अस्पतालका ३२ जना बिरामीका कुरुवालाई निःशुल्क खाना बितरण गरिएको छ ।

बिरामीलाई जिल्ला अस्पतालबाटै खाना पाईने भए पनि कुरुवाका लागि खाना सहयोग थालिएको हो ।
विआर्सि नेपाल काठमाण्डौँको रातो बाल्टिन परियोजनाको सहयोगमा जिल्ला अस्पताल अछामका बिरामी कुरुवाका लागि निःशुल्क खाना सहयोग कार्यक्रम शुरु गरिएको र उक्त कार्य १ हजार बिरामीका लागि शुरु गरिएको अछाम जेसिजका अध्यक्ष अम्मरनाथ न्यौपानेले बताउनु भयो । हरेक दिन बिहान र बेलुका खाना खुवाईने छ ।

विश्वव्यापी कोरोना महामारीका कारण जारी निषेधाज्ञाले बिरामी तथा कुरुवा समस्यामा परेका, वरीपरीका होटल समेत बन्द भएका कारण सहज खाना प्राप्तिमा समस्या भएको तथा यो बेला आर्थिक समस्या समेत हुने भएकोले बिरामी कुरुवाका लागि खाना सहयोग गरिएको कार्यक्रमका सम्पर्क व्यक्ति तथा अछाम जेसिजका निवर्तमान अध्यक्ष तुलाराम बिसीले बताउनु भयो । हाललाई १ हजार जनाका लागि खाना सहयोग शुरु गरिएको र महामारी रहुञ्जेल विभिन्न संघ संस्थासंग समन्वय गरी कार्यक्रमलाई निरन्तरता दिईने उहाँको भनाई छ ।
अछाम जेसिजले शनिवार बिहानसम्म ३२ जना बिरामीका कुरुवालाई खाना सहयोग गरेको छ । जिल्ला अस्पतालमै आएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि खाना वितरण गर्ने गरिएको छ । कोरोना महामारीका कारण समस्या उत्पन्न भैरहेको बेला निःशुल्क खाना सहयोग गरेकोमा कुरुवाले धन्यवाद व्यक्त गरेका छन् । यो कार्य सकारात्मक भएको जिल्ला अस्पताल अछामका सुचना अधिकारी गंगा बुढामगरले बताउनु भयो ।
अछाम जेसिजसंग विभिन्न समयमा सहकार्य गर्दै बिआर्सी नेपाल रातो बाल्टिन परियोजनाले सहयोग गर्दै आएको छ । समस्यामा परेका व्यक्तिहरुलाई मानवीय भावनाले सहयोग गरिरहेको र अछाम जेसिले लक्षित वर्गसम्म कार्यक्रम प्रभावकारी रुपमा लागू गरिरहेकाले सहकार्य अघि बढाईरहेको बिआर्सी नेपालका अध्यक्ष रुपा पाण्डेले बताउनु भयो । यो महामारीको बेला आफ्नो सानो सहयोगले कसैलाई राहत पुग्छ भने त्यस्तो कार्य गर्नुपर्ने अध्यक्ष पाण्डेको भनाई छ ।
शनिवार बिहान खाना खुवाउने कार्यक्रममा जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रभुनाथ खनाल, जिल्ला अस्पतालका नर्सिङ ईन्चार्ज गंगा बुढामगर, अछाम जेसिजका पूर्व अध्यक्ष नमराज न्यौपाने, कार्यकारिणी उपाध्यक्ष हरिश्चन्द्र रावल, कोषाध्यक्ष दिपीका कुँवर, उपाध्यक्ष मनकला न्यौपाने, रञ्जना तिमिल्सैना, सुर्य परियार लगायतको सहभागीता रहेको अछाम जेसिजका महासचिव टेकराज भण्डारीले जानकारी दिनुभयो ।