
एमालेले बाेलायाे स्थायी कमिटी बैठक, स्पष्टीकरण नदिने थप १२ नेतालाई कारबाहीबारे छलफल हुने
काठमाण्डौ – नेकपा एमालेले आज (आइतवार) स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजेका लागि बैठक बोलाइएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
आजको बैठकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने थप १२ जना नेतालाई थप कारबाहीबारे छलफल गरेर निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।
यसअघि एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ११ जना सांसदलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै १२ सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोध्ने निर्णय गरेको केही दिनपछि मात्रै एमालेले थप १२ जनालाई स्पष्टीकरण पत्र पठाएको थियो ।
स्पष्टीकरण पठाइरहनुपर्ने आवश्यकता नरहेको भन्दै १२ जनाले नै अहिलेसम्म स्पष्टीकरण बुझाएका छैनन् । विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधिएको थियो ।
यसैबीच बैठकमा शनिवार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि उनीहरूले विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।