होम साउद, अछाम २८ जेठ ।
प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल जिल्ला शाखा अछामले मंगलसेन नगरपालिकालाई बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नगरको आईसोलेशन सेन्टरका लागि केन्द्रले बिभिन्न १० प्रकारका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो ।
हस्तान्तरण गरिएका सामग्रीहरुमा पल्स अक्सीमिटर ५ वटा, पिपिई सेट १० वटा, इन्फार्ट थर्मोमिटर १ वटा, थर्मोमिटर १० वटा, सर्जिकल मास्क २ हजार, सेनिटाईजर १० बोतल, फेस सिल्ड ५० वटा, स्ट्याम्वर ५ वटा, गम बुट ५ जोडा र सावुन ५० वटा रहेका छन ।
नगरपालिकाका निमित्त प्रमुख पशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप-प्रमुख सरिता उपाध्याय प्रमुख अतिथि रहनुभएको थियो । नगर उपप्रमुख उपाध्यायले कोरोना भाईरस बिरुद्धको लडाइँमा सहकार्य गर्न महत्वपूर्ण सामग्री सहयोग गरेकोमा द्वन्द रुपान्तरण केन्द्रलाई धन्यवाद ब्यक्त गर्नुभयो । फाटेका मन मिलाउने कार्य गरिरहेको संस्थाले अप्ठ्यारोमा समेत साथ सहयोग र सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो । आगामि दिनमा पनि संस्थासंग समन्वय सहकार्य गर्न नगरपालिका तयार रहेको उपप्रमु उपाध्यायको भनाई छ । कार्यक्रमका अध्यक्ष निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले नगरपालिकालाई आवश्यकता रहेका सामग्री उपलब्ध गराएको भन्दै धन्यवाद दिनुभयो । यसैगरी सहकार्य गर्दै अगाडी बढेमा कोरोना संगको द्वन्द्वलाई पनि रुपान्तरण गर्न सकिने उहाँको भनाई छ । सामग्री हस्तान्तरण गर्दै संस्थाका जिल्ला संयोजक टंक भण्डारीले नगरपालिका र प्राकृति श्रोत द्वन्द्व रुपान्तरण केन्द्र विच निरन्तरको समन्वय र सहकार्य रहेको उल्लेख गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा वडानम्वर ४ का अध्यक्ष पदम बहादुर धामी, स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारी, एम आई एस अपरेटर एकेन्द्र बोगटी लगायतको उपस्थीती रहेको थियो । सामग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन नगरपालिकाका स्टोरकिपर नरेश बहादुर कठायतले गर्नुभएको एम. आई. एस. अपरेटर होम साउदले जानकारी दिनुभयो ।