एक जना पनि काेराेना सङ्क्रमित नहुँदै सञ्चालन गरिएकाे आइसाेलेशन केन्द्र बन्द, व्यवस्थापनमा समस्या

रोल्पा – रोल्पामा सञ्चालन भइरहेको आइसोलेशन केन्द्र हटाएपछि अहिले कोरोना सङ्क्रमितहरूलाई व्यवस्थापन गर्न समस्या भएको छ ।

लिबाङको जलजला बहुमुखी क्याम्पसमा रहेको जिल्लास्तरीय आइसोलेशन केन्द्र जिल्ला कोरोना सङ्कट व्यवस्थापन समितिकै निर्णयबाट हटाएपछि अहिले अधिकांश सङ्क्रमितहरु मापदण्ड नपुगेका होम आइसोलेशनमा बस्दै आएका छन् । रोल्पामा एक जना पनि कोरोना सङ्क्रमित नहुँदै स्थापना गरिएको जिल्लास्तरीय आइसोलेशन केन्द्रमा क्याम्पस सञ्चालन गर्ने भन्दै बन्द गरिएपछि यो अवस्था आएको हो ।

यो आइसोलेशन केन्द्र बन्द गरेर पालिकाको पहलमा गुरुङ गाउँमा रहेको सामुदायिक भवनमा आइसोलेशन स्थापना गर्ने भनिए पनि अहिलेसम्म कुनै सुरसार छैन । यता प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले सरकारले होम क्वरेण्टीन र होम आइसोलेशनलाई प्राथमिकता दिएको बताउनुहुन्छ । ‘शैक्षिक संस्थाबाट आइसोलेशन हटाउनु भन्ने माथिको निर्देशनअनुसार क्याम्पसबाट आइसोलेशन हटाइएको हो’, प्रजिअ रानाले भन्नुभयो, ‘अब गुरुङ गाउँमा नयाँ आइसोलेशन सञ्चालन हुन्छ ।’

समुदायस्तरमा कोरोना फैलिएकाले नागरिकहरु पनि आफै सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकारी रानाको भनाइ छ । रोल्पा अस्पतालका १० जना स्वास्थ्यकर्मीसहित सदरमुकाम लिबाङमा मात्रै अहिले १७ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा रहेका छन् ।

अस्पतालमा समेत सङ्क्रमण देखिएपछि अहिले रोल्पा अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) बन्द गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित भएकाले बिरामी र ती सङ्क्रमितहरूलाई राख्न समस्या भएको रोल्पा अस्पतालकी डा. प्रतिभा सुवेदीले बताउनुभयो । ‘यसअघि सङ्क्रमित भएमा आइसोलेशन केन्द्रमा पठाउन सजिलो हुन्थ्यो’, डा. सुवेदीले भन्नुभयो ‘अहिले अस्पतालमै राख्दा समस्या भएको छ ।’

रोल्पामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २०२ पुगेको छ भने तीन जनाको ज्यान गइसकेको छ । सुरुमा पालिकाले सक्रियता देखाएको भए पनि अहिले जोखिम बढ्दै जाँदा पालिकाले बेवास्ता गरेको सङ्क्रमितहरूको गुनासो छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button