काेभिड अति प्रभावित २० परिवारलाई खाद्यान्न सहयाेग

टेकराज भण्डारी, असार १०, अछाम

कोभिड १९ बाट प्रभावित अति जोखिममा रहेका २० घरपरिवारलाई दैनिक उपभोग्य (खाद्य) समाग्री वितरण गरिएको छ ।
वाक नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत जिल्लाको साँफेबगर नगरपालिका वर्डा नं. ४ का २० परिवारलाई खाद्यान्न सहयोग गरिएको हाे ।

सहयाेग अन्तर्गत प्रति परिवार ३० के.जी चामल, ३ के.जी दाल, २ के.जी चिनी, २ पोका नुन, २ लिटर तेल र ४ थान साबुन गरी प्रति परिवार ३ हजार १ सय १६ रुपैँया बराबरको सामग्री बितरण गरिएको छ । वाक नेपालका अध्यक्ष मिन बहादुर कुवरको अध्यक्षतामा भएको सामग्री वितरण कार्यक्रममा साफेबगर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष बालगिरी कुवर प्रमुख अतिथि रहनु भएको थियाे ।
प्रमुख अतिथि कुँवरले काेभिड-१९  महामारीको कारण समस्यामा परेका परिवारलाई सहयाेग गरेकोमा धन्यवाद दिँनुभयाे ।

उहाँले वाक नेपाल र वल्र्ड भिजनले साँफेबगर नगरपालिकाको समन्वयमा विकास कार्य लगायत मानवीय कार्यमा निरन्तर रुपमा सहयोग गर्दै आएकोमा वाक नेपाल र वल्र्ड भिजनलाई धन्यवाद ज्ञापन गर्नु भयो । लाभग्राहीहरु छनौट गर्दा वाक नेपालले तयार पारेको मापदण्डको अधारमा गरिएको र यसमा कुनै किसिमको वडा कार्यालयले पुर्वाग्रह नगरेको कुरा समेत उल्लेख गर्नु भयो । साथै आफ्नो वडामा अति जोखिममा रहेका परिवारहरुको संख्या धेरै रहेकाले आगामी दिनहरुमा पनि सहयोगको कार्यक्रमलाई विस्तार गर्न सुझाव दिनु भयो । कार्यक्रममा बोल्दै वाक नेपालका अध्यक्ष मिन बहादुर कुवरले वाक नेपालले संचालन गर्ने हरेक क्रियाकलापमा पारदर्शिता र जवाफदेहितालाई प्रमुख प्राथमिकता दिने गरेको र यसका लागि हरेक कार्यक्रममा टोल फ्रि नम्बर टाँस गर्ने, सुुझाव पेटिका राख्ने गरेको बताउनु भयो । वाक नेपालले संचालन गर्ने हरेक गतिबिधिहरु स्थानीय सरकारसंगको समन्वयमा संचालन भैरहेको र स्थानीय सरकारबाट समेत आवश्यक सहयोग प्राप्त भएको कुरा जानकारी गराउनु भयो ।

दैनिक उपभोग्य (खाद्य) समाग्री वितरण कार्यक्रम अन्तर्गत मेल्लेख गाउँपालिकामा १८० परिवार, पञ्चदेवल बिनायक नगरपालिकामा १२० परिवार र कमलबजार नगरपालिकामा ८० परिवार गरि जम्मा ३८० परिवारलाई असार १६ गते भित्र दैनिक उपभोग्य (खाद्य) समाग्री बितरण गरि सक्ने योजना रहेको वाक नेपालका कार्यक्रम संयाजक दिलिप बोहराले जानकारी गराउनु भयो ।

वाक नेपालका कार्यक्रम संयाजक दिलिप बोहराले संचालन गर्नु भएको खाद्यान्न वितरण कार्यक्रममा वाक नेपालका कार्यक्रम व्यवस्थापक चेतराज जोशी, लेखा अधिकृत ईश्वर उपाध्याय, मिल अधिकृत जगत रावल, जीविकोपार्जन अधिकृत धिरज ढुंगाना, सामाजिक परिचालक बिष्णु बुडथापा र सामग्री उपलब्ध गराउने व्यापारी धर्मराज उपाध्यायको उपस्थिति रहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button