काठमाण्डाै – लगातारको झरी रोकिएसँगै बाढीको जोखिम केही कम भएको छ । देशका केही ठाउँमा राति पानी पर्न कम भए पनि गण्डकी प्रदेशका पोखरा, लमजुङसहित वाग्मती प्रदेशको चितवन र तराईका जिल्लामा ठूलो वर्षा भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज भने हिजोअस्तिको जस्तो लगातार झरी पर्ने सम्भावना छैन । तर, केही ठाउँमा ठूलो वर्षाको सम्भावना भने रहेकाले सतर्कता भने अपनाउनु पर्दछ । आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ ।
यसअघिको वर्षाले नै जमिन गलाइसकेकाले आज पानी नपरेको ठाउँमा पनि पहिरो जान सक्ने भन्दै विज्ञले सचेत रहन आग्रह गरेका छन् । यस्तै, तराईका जिल्लामा आज ठूलो पानी पर्ने सम्भावना रहेकाले डुबानको जोखिम पनि रहेको मौसमविद्ले बताएका छन् । अहिले मनसुनी न्यूनचापीय रेखा तराईको भूभाग नजिकै रहेको छ ।
यस वर्षको मनसुन सुरु भएपछि बाढी तथा पहिरोका कारण अहिलेसम्म ३८ जनाको ज्यान गएको छ । ३१ जना हराइरहेका छन् । बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । यस्तै मनसुनजन्य विपदबाट झण्डै पाँच सय घरमा पूर्ण रुपमा क्षति पुगेकाे छ।
एक सय १२ घरमा आंशिक क्षति पुगेको छ भने झण्डै तीन दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्की पुल, निर्माणाधीन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ । मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ जाने, बाजुरा जाने र सिन्धुपाल्चोकको तातोपानी नाका जाने सडक लामो समयदेखि बन्द छन् ।